रौतहट,१८ फागुन। जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो परिमाणमा प्याज बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर – ८ मिनाबजारमा अनधिकृत रुपमा भण्डारण गरेको अवस्थामा प्रहरीले ५ हजार २२० किलोग्राम प्याज बरामद गरेको हो ।
विशेष सूचनाको आधारमा खानतलासी गर्न पुगेको प्रहरीलाई देख्ने बित्तिकै प्याज भण्डारण गर्ने व्यक्ति फरार भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीषक कुमारविक्रम थापाले बताए । उनकाअनुसार १३३ बोरामा बेवारिसे अवस्थामा बरामद गरिएको प्याज आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।
यस्तै प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ ईदगाह चौकबाट भन्सार छलीका सामग्री बरामद गरेको छ । २ जना व्यक्तिहरुले भन्सार छली चोरी पैठारी गरेर ल्याउँदै गरेको अवस्थामा प्रहरीले विभिन्न सामग्री बरामद गरेको हो ।
प्रवक्ता थापाकाअनुसार ३५० मीटर थान कपडा, मार्किन कपडा ७२ मिटर, लेडिज कट्टु १५५ पिस, अण्डरवेयर ९८ पिस, होली कुर्ता १० पिस, तौलीया १२ पिस, कुर्ता सुरुवाल ८ पिस, लुंगी ३ पिस, गम्छा ५ पिस बरामद गरिएको हो ।
३ लाख ३ हजार ३१० रुपैयाँ बराबरको भन्सार छलीका सामग्री आवश्यक अनुसन्धानका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीषक थापाले बताए ।