रौतहट,२९ चैत्र। अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिना (सौवाल) को पहिलो दिन आज देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठुलाबडाबाट आशीर्वाद लिएर इद-उल-फित्र पर्व धुमधामका साथ मनाउँदै छन् ।
बुधबार ३० रोजा पूरा भएको र बुधबार साँझ चन्द्रमा पनि देखिएकोले मुस्लिम समुदायले ईदुल फित्र (ईद) मनाउन लागेका छन् । खाडी मुलुक साउदी अरब, कत्तार, सहितका देशहरुरमा बुधबार नै ईद मनाए पनि नेपालसहित भारत, पाकिस्तान, बंगलादेश लगायतका मुलुकका मुस्लिम सामुदायले बिहीबार एकैसाथ ईद मनाउँदै छन् ।
इस्लाम धर्मका ५ वटा आधार स्तम्भ इमान, नवाज, रोजा, जकात, हजमध्ये रोजा तेस्रा नम्बरको हो । गढ़िमाई निवासी समाजसेवी युवा नेता एम डि सनमले भने हरेक बालिग महिला र पुरुषमा रमजान महिनामा रोजा बस्नुपर्ने अनिवार्य प्रावधान रहेको छ । ईदमा सेवइ, खीर तथा अन्य मिठो परिकार खानपिन गर्ने गरिन्छ ।
त्यस्तै इदको लागि मुस्लिम समुदायले परिवारका प्रत्येक सदस्यको लागि नयाँ लुगाकपडा खरिद गर्ने गर्दछ । ईदको नमाज पढ्नु पुर्व घरका प्रत्येक सदस्यको लागि नयाँ लुगा कपडा लगाउनु जरुरी छन्, तर गरिब, असहायलाई मालदार मुस्लिमहरुले जकातको रुपमा लत्ताकपडा तथा खानपिनको लागि सामग्रीहरु सहयोग गरिदिने चलन रहेको छ ।’ ईदको बिहानै सम्पूर्ण मुस्लिमले नुहाई पाकसाफ भइ नयाँ कपडामा नजिकका इदगाह वा मस्जिदमा गएर ईदको नमाज पढ्ने गर्दछ ।
ईदको नमाज पढ्नु भन्दा पूर्व रोजामा भएको कमी कमजोरी वा रोजालाई शुद्धिकरणका लागि प्रतिव्यक्ति २ किलो ४५ ग्राम गहुँको दरले परिवारका सवै सदस्यहरुको नाममा अनिवार्य रुपमा मस्जिद मदरसामा दान गर्नुपर्ने चलन रहेको छ । ईदको नमाज समाप्त भएसँगै मुस्लिम समुदायले एक अर्कालाई अंकमाल गरी ईद मुबारक भन्दै शुभकामना दिने गर्छ । यता, ईदको अवसरमा संघीय सरकार र मधेश प्रदेश सरकारले पनि आज सार्वजनिक विदा दिएको छ ।