वर्तमानकाल सम्वाददाता
बैशाख १० गते ।
बलिउडका मिष्टर परफेक्शनिष्ट आमिर खानका भाञ्जा इमरान खानको क्यामरा सामु
पुनरागमनको कोसिसलाई झट्का लागेको छ । गएको एक वर्ष यता अभिनेता एउटा वेब सिरिजलाई लिएर चर्चामा थिए ।
तर मेकरहरूले यो वेब सिरिजलाई रद्द गरिदिएका छन् । अब इमरानको हातमा यति बेला कुनै पनि प्रोजेक्ट छैन । आफ्नो पुनरागमनका लागि अब कति समय लाग्न सक्छ भनेर अभिनेता स्वयम्लाई पनि थाहा छैन ।
इमरान कयामत से कयामत तक र जो जीता वही सिकन्दरमा बाल कलाकारको रूपमा देखिएका थिए । उनले सन् २००८ मा निर्देशक अब्बास टायरवालाको फिल्म जाने तू या जाने नाबाट नायकको रूपमा ठुलो पर्दामा डेब्यु गरेका थिए । तर, उनको अभिनय करियर धेरै समयसम्म टिक्न सकेन । यसपछि लगातार फ्लप फिल्ममा देखिएका इमरानको अन्तिम फिल्म ‘कट्टी बट्टी सन् २०१५ मा रिलिज भएको थियो । त्यसयता उनले आफ्नो अधिकांश समय विदेशमा बिताइरहेका छन् । जन्मजात अमेरिकी नागरिक
इमरान विगत दुई वर्षदेखि ओटीटीमा केही गर्ने ताकमा थिए ।
निर्देशक अब्बास टायरवालाले गत वर्ष इमरान खानसँग डिटेक्टिभ सिरिज बनाउने योजना बनाएका थिए । चर्चित ओटीटीले पनि यसका लागि सकारात्मक संकेत दिएको थियो । तर यस वर्षको सुरुदेखि नै यस सिरिजबारे नयाँ छलफल सुरु भयो । ओटीटीले जस्तो खालको भारतीय जासूस श्रृंखला बनाउन चाहेका थिए सो इमरानको वेब सिरिजमा देखिएन । यस योजनामा सिरिजको बजेट पनि बाधा बनिरहेको थियो ।
अन्ततः ओटीटीले यो सिरिज रद्द गर्ने निर्णय ग¥यो । वेब सिरिज रद्द भएपछि इमरान निराश छन् । तर उनी जे हुन्छ, राम्रोको लागि हुन्छ भन्ने विश्वासमा छन् । वेब सिरिजलाई लिएर अहिले उनको टोन फेरिएको छ । ‘हिंस्रक कहानी मलाई खासै मन पर्दैन । हरेक विवादको समाधान बन्दुक हुन सक्दैन । धेरै हिंसा भएका कथाहरू समाजका लागि पनि राम्रो होइनन् ।
हिंसात्मक कार्यहरू स्वभाविक वा प्राकृतिक न्यायको साथमा हुँदैनन् भने त्यस्ता कथाहरू भन्नु उचित होइन,’ उनले भनेका छन् ।
यतिबेला इमरान खानसँग कुनै फिल्म वा सिरिज छैन । सिरिज बन्द भएपछि क्यामेराको अगाडि इमरानको पुनरागमन अस्पष्ट भएको छ ।आफ्नो पुनरागमनका लागि अभिनेताले मामा आमिर खानसँग पनि लामै कुरा गरेका थिए । तर यति बेला आमिर आफ्नो सारा ध्यान छोरा जुनैदको ठुलो पर्दामा डेब्यूमा लगाइरहेका छन् ।