रमेश कुमार यादब
बैशाख १०, रौतहट
रौतहटमा तातो हावाले जनजीवन प्रभावित बनेको छ । यहाँ विगत एक सातादेखि दिनभर टन्टलापुर घाम र अत्यधिक तातो हावा समेत चल्न थालेसँगै जनजीवन प्रभावित बनेको हो । केही दिनदेखि गर्मी अत्यधिक बढेको छ । गर्मी ह्वात्तै बढेपछि यहाँको जनजीवन कष्टकर बनेको छ । बिहानैदेखि चल्ने तातो हावाका कारण सर्वसाधारणलाई दैनिक क्रियाकलाप गर्न असहज बन्दै गएको छ । वृद्धवृद्धादेखि बालबालिकासम्मलाई गर्मीका कारण बढी समस्या भएको छ ।
तातो हावाले गर्दा अत्यावश्यक काम परेर बाहिर निस्किएका सर्वसाधारण र मोटरसाइकल चालक बढी प्रभावित भएका छन् । तातो हावा र टन्टलापुर घामका कारण अति आवश्यक काम परेर सडक, बजारमा निस्कनुपर्नेहरु प्रभावित बनेका छन् । विशेषगरि, मजदुरीमा निस्किएका मजदुर र खेतबारीको काम गर्नुपर्ने किसानहरूलाई चिकित्सकले अहिले चलेको तातो हावा असाध्यै दूषित रहेकाले यस्तो मौसममा सकेसम्म घरभित्रै बस्न सुझाव दिएका छन् । बृन्दावन नगरपालिका(३ स्थित रहेको स्वास्थ्य चौकीका इन्चार्ज राजेन्द्र प्रसाद यादबले धुलोसहित अत्यधिक तीव्र गतिमा तातो हावा चल्दा मानिसमा धुलो तथा गर्मीजन्य सङ्क्रमण गढ्ने जोखिम अत्यधिक हुने बताउनु भएको छ ।
उहाँले यस्तो मौसममा सकेसम्म घरभित्रै बस्न, प्रशस्त पानी पिउन, अस्वस्थकर खानेकुरा नखान र स्वस्थ रहने उपाय अपनाउन सुझाव दिनुभएको छ । डा. यादबले गर्मी र तातो हावाका कारण मानिसमा टाउको दुख्ने, शरीर शिथिल हुने, घाँटी दुख्ने, आँखा पोल्नेजस्ता स्वास्थ्य समस्या बढ्ने बताउनु भयो । यस्तो मौसममा बालबालिका, ज्येष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिको अझै बढी ख्याल गर्नुपर्ने चिकित्सकको भनाइ छ ।
यस्तै तीव्र गतिमा तातो हावा चल्न थालेसँगै तरकारी, मकै लगायतका अन्य बालीनाली सुक्ने भन्दै किसान चिन्तित बनेका छन् । बृन्दावन नगरपालिकाकाको वार्ड नं.३ बिश्रामपुरका किसान राम नरेश यादबले भने अत्यधिक तातो हावा चल्दा (हाइब्रिड) मकैबाली लगायत खेतमा लगाएको बिभिन्न प्रकारका तरकारीहरु सुक्ने चिन्ता परेको बताउनु भयो ।
तीव्र गतिमा हावाहुरी चल्दा आगलागीको जोखिम अत्यधिक रहेकाले चुल्होमा खाना पकाएपछि आगो राम्रोसँग निभाउन, बालबालिकालाई आगोजन्य पदार्थ नदिन, चुरोट तथा बिँडी पिएर जथाभाबी नफाल्न र वनमा डढेलो नलगाउन स्थानीय प्रशासनले
अनुरोध समेत गरेको छन ।