वर्तमानकाल सम्वाददाता
बैशाख १० गते ।
नेकपा माओवादी केन्द्रले चैत १५ गतेदेखि चैत मसान्तसम्म पूर्व झापादेखि पश्चिम मधेससम्म हुलाकी सडक हुँदै तराई मधेस जागरण अभियान चलाउने निर्णय गरेको थियो । तर चैत ८ गते माओवादीले सो कार्यक्रम स्थगित भएको घोषणा ग¥यो ।माओवादी केन्द्रले तयारी नपुगेका कारण बैठक अभियान स्थगित गरिएको भने पनि मुख्यतः मधेस प्रदेशमा पार्टीभित्र देखिएको विवाद नै प्रमुख कारण रहेको नेताहरू बताउँछन् ।समस्या सुल्झाउने सूत्रमधेस प्रदेशमा माओवादीको सङ्गठन अस्तव्यस्त छ ।
नेतैपिच्छे गुट छन् । वडा तहदेखि प्रदेशसम्म समितिहरू बन्न सकेको छैन । सीमित केही समिति पनि व्यवस्थित छैनन् । हरेक समितिमा विवाद छ । यस्तो अवस्थामा कार्यक्रम गरेमा सफल नहुने देखेर स्थगित गरिएको माओवादी पार्टीकै कतिपय नेता बताउँछन् ।
मधेस प्रदेशको संगठन चुस्त दुरुस्त बनाउने, त्यसपछि मात्र अभियान सञ्चालन गर्ने माओवादीको तयारी छ । त्यसका लागि माओवादीले मधेसको जिल्लामा इन्चार्ज, सहइन्चार्ज, प्रत्येक क्षेत्रमा एक जना केन्द्रीय सदस्यलाई जिम्मेवारी दिएको छ । यी सबैले आफ्नो कार्य सुरु गरिसकेको मधेस प्रदेशका सहइन्चार्ज विश्वनाथ साहले बताए ।
उनले भने, ‘विगतमा जे–जस्तो विवाद थियो, त्यो अब सबै समाधान हुन्छ र पार्टीको नयाँ विधान अनुसार मधेस प्रदेश पनि क्रियाशील हुन्छ ।’वैशाख १५ गते सर्लाहीमा मधेस प्रदेशमा रहेका केन्द्रीय सदस्यहरूको बैठक छ । सो बैठकले प्रदेश सम्मेलनको मिति तय गर्छ र, त्यही सम्मेलनबाट मधेस प्रदेशका सबै समस्या समाधान गरी अगाडि बढ्ने सहइन्चार्ज साहले बताए ।