वर्तमानकाल सम्वाददाता
बैशाख ११ गते ।
पाँच वर्षमा दुई चरणमा महाधिवेशन गर्ने विधान बनाएको राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो चरणको महाधिवेशन नै अनिश्चित बनेको छ । विधानतः महाधिवेशन संघीय चुनावको एक वर्षभित्र हुनुपर्दछ । संघीय चुनाव भएको एकवर्ष भित्र महाधिवेशन गर्नुपर्ने विधान कार्यान्वयन नगर्न ‘संक्रमणकालीन व्यवस्था’ले साथ दिएको छ । संक्रमणकालीन व्यवस्था अनुसार रास्वपाको पहिलो महाविधेशन आफू अनुकूल पर धकेल्न सकिने अनुकूलता पार्टीलाई छ ।
संक्रमणकालीन व्यवस्था अन्तर्गत दफा ९५ मा ‘पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन, प्रदेश अधिवेशन, जिल्ला अधिवेशन, पालिका अधिवेशनबाट नयाँ नेतृत्व चयन नहुन्जेल संक्रमणकालीन व्यवस्था लागू हुने’ उल्लेख छ । यही व्यवस्था देखाएर
रास्वपाले सुस्त गतिमा निर्वाचन प्रक्रिया अघि बढाएको छ । संक्रमणकालीन व्यवस्थाको आड नलिएको भए रास्वपाले गत मंसिरभित्र पहिलो महाधिवेशन गरिसक्नु पर्ने थियो ।
वडा तहको अधिवेशन धीमा गतिमा गरिरहेको रास्वपाले पालिका, प्रदेशसँगै केन्द्रीय महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्न सकेको छैन । मंसिर देखि सुरु भएको वडा अधिवेशन ६ महिनाको अवधिमा १९८ वडामा मात्रै सकिएको छ । वडा अधिवेशन सुस्त गतिमा गरिरहेको रास्वपाले त्यस माथिका संरचनाको मिति तोक्न सकेको छैन ।
रास्वपाको निर्वाचन आयोगका सचिव भूमिनन्द बराल अधिवेशनको गति सुस्त भएको स्वीकार्छन् । विधान संशोधन र उप निर्वाचनमा लाग्दा अधिवेशनमा सुस्तता आएको उनले बताए । वडा अधिवेशनका सबै प्रक्रिया थाति राखेर हाल सिंगो पार्टी इलाम–२ मा हुने उप निर्वाचनमा केन्द्रित भएको छ । ‘अबको तयारी १२ सय वडामा गर्नेछ । वडाहरु २०८१ भरिमा सक्ने पार्टीको लक्ष्य छ । यो वर्षमा ४ हजार बढी वडामा अधिवेशन सक्छौं ।’ तल्लो तहको अधिवेशनको कार्यतालिका सार्वजनिक गर्न नसकेको रास्वपाले केन्द्रीय महाधिवेशनको समय यकिन गर्न थप समय लगाउने भएको छ ।
बरालका अनुसार ३५० पालिका र करिब १५ सय वडामा पार्टी संरचना छ । कमिटी गठन हुन नसकेका वडामा कुन रुपमा अधिवेशन गर्ने अन्योल पनि रास्वपामा छ ।उपनिर्वाचन लगत्तै वडा कमिटी नभएका स्थाका बारेमा निर्णय हुने रास्वपाले जनाएको छ । पालिकाभित्रका कुनै वडाको अधिवेशन गर्न सम्भव नभए केन्द्रीय संगठन विभागले निर्णय गरी उक्त वडाको अधिवेशन थाँती राखी पालिका अधिवेशन गर्न सकिने व्यवस्था विधानले दिएको छ ।
यसपछि आउने तालिकामा पनि केन्द्रीय महाधिवेशनको मिति भने नतोकिने बरालले बताए । २०८२ को मंसिरतिर केन्द्रीय महाधिवेशन गर्न सकिने आकलन उनले गरे । वडा तहको अधिवेशन नभई माथिल्लो संरचनाका अधिवेशन सम्भव हुँदैन । कमिटी निर्माणको गतिलाई हेर्दा रास्वपाको ६ हजार ७४३ वडामा कमिटी गठन गरेर २०८२ मंसिर भित्र महाधिवेशन गर्न सहज देखिँदैन ।
सबै वडामा कमिटी गठन हुन नसके विकल्पका रुपमा नयाँ विषय पनि रास्वपामा उठेको छ । गाउँपालिकामा ३३, नगरपालिकामा ४४ र महानगरमा ५५ जना पार्टी सदस्य बने भने उनीबाट नै महाधिवशेन गरेर प्रतिनिधि छानिने विषयमा पनि कुरा भएको बरालले जानकारी दिए ।कर्णालीमा एउटा र मधेसमा दुई वडामा हालसम्म अधिवेशन हुन सकेको छ ।