वर्तमानकाल सम्वाददाता
बैशाख १४ गते ।
जिल्ला अदालत रौतहटले २०६४ साल चैतमा भएको एक घटनामा दोषी ठहर गर्दै नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमसहित ४ जनालाई जन्मकैदको सजाय सुनाएको छ ।बिहीबार न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलम, उनका भाइ महताब आलम, शेष सेराज भन्ने शेष सराज र बद्री सहनीलाई जन्मकैदको सजाय सुनाएको श्रेस्तेदार उद्धव ढोडारीले जानकारी दिए ।रौतहटको राजपुरमा २०६४ चैत २७ गते रौतहटको राजपुरमा बम बिस्फोटमा घाइते भएकाहरुलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा उनलाई अदालतले सजाय सुनाएको हो । उनीहरुले मुलुकी ऐन २०२० अनुसार जन्मकैद अर्थात २० वर्षको सजाय पाएका छन् ।
त्यस्तै मुक्ति साहले सफाइ पाएका छन् भने मोहम्मद मोविन, शेष फजल, शेष भदै, सागिर आलम, गौरीशंकर साह र शेष मालाकार फरार रहेकाले उनीहरुको हकमा मुद्दा मुल्तवीमा राखिएको श्रेस्तेदार ढोडारीले जानकारी दिए । पहिलो संविधानसभाको चुनावको अघिल्लो दिन रौतहटको राजपुरस्थित अफताब आलमका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा केही व्यक्ति घाइते भएका थिए ।
त्रिलोकप्रताप सिंह र ओशी अख्तरसहित घाइतेहरुलाई जिउदै इँटाभट्टामा पोलेको आरोप लागेपछि १९ असोज २०७६ मा रौतहट क्षेत्र नं. २ का तत्कालिन सांसदसमेत रहेका आलम पक्राउ परेका थिए ।ती घाइतेलाई नजिकैको इँट्टाभट्टामा जिउँदै जलाएर हत्या गरिएको आरोप आलम र उनका भाइ महताबसहित अन्यमाथि थियो । उनीहरुविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट सम्बन्धी कसुर गरी तीन वटा मुद्दा दायर गरिएको थियो ।थुनछेक बहसपछि जिल्ला अदालत रौतहटले २९ कात्तिक २०७६ मा आलमलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
आलमविरुद्धको यो मुद्दामा विगत तीन दिनदेखि जिल्ला अदालतमा जारी बहस बिहीबार सकिएको थियो । बहसका क्रममा वादी नेपाल सरकारका तर्फबाट सरकारी वकिल दयानिधि रिजाल, बद्री कार्की, पुष्पराज पौडेलले बहस गरेका थिए ।प्रतिवादी आलमका तर्फबाट नेपाल बारका केन्द्रीय अध्यक्ष गोपालकृष्ण घिमिरे, यदुनाथ खनाल, अजय पटेल, मजरुल हक, सञ्जीव मल्लिक, साबिर हुसैनसहित ९ जनाले बहस गरेका थिए ।