वर्तमानकाल सम्वाददाता
बैशाख १५ गते ।
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्र खत्रीको करिअरमा बितेका २४ घन्टामा दुई महत्वपूर्ण परिघटना भए ।उनका लागि प्रहरी जीवनमै सबैभन्दा महत्व राख्ने आदेश रौतहट जिल्ला अदालतले बिहीबार अपराह्न ग¥यो । अनि यसको २४ घन्टा नबित्दै उनी काठमाडौं प्रहरी प्रमुखको कुर्सीबाट हटाइए ।हुन त दुवै घटना संयोग मात्र हुन् । तर एउटा हाइप्रोफाइल अनुसन्धान न्यायिक जाँचको पहिलो तहबाट स्थापित भएकै भोलिपल्ट अवधि नपुग्दै विनाकारण जिम्मेवारी खोसिंदा उनी खुशी हुने कि दुःखी, अलमलमा छन् ।
खत्री तिनै प्रहरी अधिकृत हुन्, जसले घटनाको एक दशकपछि पूर्वमन्त्री एवं वहालवाला सांसद् मोहम्मद अफताव आलमको क्रुर
अपराधको फाइल खोलेका थिए । पहिलो संविधान सभा चुनावको अघिल्लो साँझ मौन अवधि चलिरहेको थियो । त्यही बेला आलमले आफ्नो क्षेत्रमा पर्ने इँटाभट्टामा भएको विस्फोटमा घाइतेलाई जिउँदै चिम्नीमा हालेर हत्या गरेका थिए ।
कम्तिमा ४ जनालाई भट्टीमा पोलेर मार्दा पनि सत्ता र शक्तिको आडमा उनी छानबिनबाट उम्किंदै आएका थिए । एसपी छँदा २०७६ सालमा खत्री रौतहटमा प्रहरी प्रमुख भएर जानुअघि जिल्ला प्रहरी कार्यालयमा १६ एसपी फेरिइसकेका थिए । सरकारी वकीलले त्योबीचमा वारदात नै स्थापित नहुने भन्दै मुद्दा नचलाउने निर्णय गरिसकेको थियो ।तर, सर्वोच्च अदालतले अन्तिममा घटना भएको देखिएको भन्दै अनुसन्धान संलग्न बारे छानबिन अघि बढाउन आदेश गरेको थियो । यद्यपि, कसैले आलमको फाइल खोल्ने आँट
गरेका थिएनन् ।
यस्तोमा खत्रीले रौतहट जाने बित्तिकै दराजमा थन्किरहेको आलमको फाइल टक्टक्याएका थिए । अरु एसपी रौतहटमा हाजिर हुँदा झैं झिनो आश लिएर मृतक त्रिलोकप्रताप सिंहका बाबु श्रीनारायण पनि खत्रीलाई भेट्न पुगेका थिए ।थुप्रै एसपीहरूले यत्तिकै छाडेका कारण श्रीनारायणले अफतावको फाइल खुल्नेमा विश्वास त गरेका थिएनन् । यद्यपि, झिनो आशमा नयाँ प्रहरी प्रमुख आउने बित्तिकै एसपीलाई भेट्न जान छाडेका थिएनन् ।
योपटक पनि उनले खत्रीलाई अरू एसपीलाई झैं आफ्नो छोरालाई चिम्नीमा हालेर मार्नेलाई कानूनी दायरामा ल्याइदिन अनुरोध गरे । खत्रीले ‘आफूले हेर्ने’ बताए । अन्य एसपीले पनि त्यसै भन्थे, तर गर्थेनन् । त्यसैले श्रीनारायणले सुरुमै पत्याइहालेनन् ।झण्डै १२ वर्षपछि अर्थात् २६ असोज २०७६ मा आलम पक्राउ परे ।
एक विवाह समारोहमा जान लागेका बेला पक्राउ पर्दा आलम डीएसपी नविन कार्की र इन्स्पेक्टर पप्पु नायकसामू झोक्किएका थिए, ‘जिल्लामा आग लाग्छ, हत्कडी लगाइदिन्छु (पक्राउ गर्ने प्रहरीलाई) ।’ एसपी खत्रीलाई त उनले ‘ठूलो गल्ती गरेको’ भन्दै चेतावनी दिएका थिए, ‘ए.. एसपी तिमी को हो ? म आईजी बनाउने मान्छे हो, देखाइदिन्छु ।’
कतिसम्म भने त्यसबेला कांग्रेस सभापति शेरबहादुर देउवाले पनि आलमको पक्राउलाई कांग्रेसविरुद्धको षडयन्त्रका रूपमा टिप्पणी गरेका थिए ।तर, जिल्ला अदालत, रौतहटका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले बिहीबार आलमसहित ४ जनालाई जन्मकैद हुने आदेश सुनायो । ‘आदेश सुनेर एकदमै खुशी लाग्यो’, खत्री भन्छन्, ‘हाम्रो टिमको मिहिनेत न्यायिक परीक्षणबाट पनि सावित भयो ।’