वर्तमानकाल सम्वाददाता
बैशाख १९ गते ।
पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका–१६ भन्सार इलाकाबाट सोमबार सशस्त्र प्रहरीले स्रोत नखुलेको ३ लाख ३६ हजार नेपाली रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ । बी.आर. ०५ एजेट ७५७४ नम्बरको मोटर साइकलमा नेपालबाट
भारततर्फ जाँदै गरेका भारतको पूर्वी चम्पारण रक्सौल घर बताउने ४० वर्षीय अफ्रोज अहमदले सो रुपैयाँको स्रोत खुलाउन नसकेपछि प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका अहमदको साथमा फेला परेको रुपैयाँमा १ हजार दरको ३६ वटा र ५ सय दरको ६ सय वटा नेपाली नोट रहेको छ । नियन्त्रणमा लिइएका उनलाई बरामद रुपैयाँ तथा मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि वीरगन्ज भन्सार कार्यालय पर्सामा बुझाइएको छ । मोटरसाइकलको भन्सार दाखिला मूल्य २ लाख रुपैयाँ रहेको छ ।
वीरगन्ज महानगरपालिका–९ घण्टाघरस्थित सडकबाट नेपाली १ हजार दरको १ सय २३ थान नक्कली नोटसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत पश्चिमी चम्पारण बेतिया भावल पंचायत–४ बस्ने ३० वर्षीय क्यामुदिन मियाँ र बारा प्रसौनी गाउँपालिका–२ बस्ने ४० वर्षीया हलिमा खातुन रहेका छन् ।
वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त नोटसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।