वर्तमानकाल सम्वाददाता
बैशाख २० गते ।
सप्तरीको महदेवा गाउँपालिकाको वडा नम्बर १ चिम्टी टोलमा मंगलबार भीषण आगलागी भयो । आगलागीबाट करिब ५० भन्दा बढी घर जलेर खरानी भए । टोलका नुथन यादवको घरमा खोले पकाउन बालिएको आगो सल्केर पूरै बस्तीलाई जलाएको प्रहरीले जानकारी दिएको छ । हावाहुरी चलेको बेला आगलागी भएकाले आगोले पूरै बस्ती छोएको प्रहरी जनाउँछ । आगलागीबाट के कति क्षति भयो भन्नेबारे विवरण सङ्कलन भइरहेकाले अहिलेसम्म यकिन हुन नसकेको सप्तरी प्रहरी प्रवक्ता ढुण्डीराज न्यौपाने बताउँछन् ।
रेडक्रस, प्रहरीसहितका सङ्घसंस्थाहरूले क्षतिबारे विवरण सङ्कलनको कार्य गरिरहेको प्रहरी प्रवक्ता न्यौपानेले जनाए ।
सप्तरीमा भएको आगलागीबाट घर, चौपाया, भकारी, अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, गोठसहित अन्य सामान जलेर खरानी भएको प्रहरीले जनाएको छ । सप्तरीमा भएको आगलागीको ठिक ७ दिन अगाडि महोत्तरीमा पनि भीषण आगलागी भएको थियो ।
महोत्तरीको मटिहानी नगरपालिकाको पछिहारी टोलमा भएको आगलागीमा १०३ वटा घर जलेर खरानीमा परिणत भए । बस्तीका ५७० जना आगलागीबाट घरविहीन भएका छन् ।
करिब १० महिनामा भएका यी आगलागीका घटनामा परेर मृत्यु हुनेको सङ्ख्या पनि डरलाग्दो छ । आगलागीका कारण मधेस प्रदेशमा २० जनाको मृत्यु भएको प्रहरी तथ्याङ्क छ । चालु आर्थिक वर्ष प्रदेशभर भएका आगलागीका घटनाबाट २० जनाको मृत्यु भएको तथा १२० जना घाइते भएको मधेस प्रदेश प्रहरी प्रवक्ता सुभास बोहोराले बताए । उनका अनुसार मानवीय क्षतिसँगै २०३ वटा चौपायाको मृत्यु भएको र ११२ वटा घाइते भएको विवरण छ । आगलागीबाट यो अवधिमा ५६१ वटा पक्की तथा कच्ची घर जलेर नष्ट भएको प्रहरी आँकडा छ ।
यसैगरी २२७ वटा गोठ जलेर नष्ट भएको मधेस प्रदेश प्रहरी प्रवक्ता बोहोरा बताउँछन् । मधेसको सिरहा जिल्लामा सबैभन्दा बढी आगलागीको घटना भएको प्रहरीको तथ्याङ्कले देखाउँछ । आगलागीका घटना कम भएको जिल्ला सर्लाही हो । सिरहामा २१६ वटा र सर्लाहीमा १०४ आगलागीका घटना भएको प्रहरीको अभिलेख छ ।
यसैगरी रौतहटमा १८३, सप्तरीमा १७२, धनुषामा १४५, महोत्तरीमा १३०, बारामा १२१ र पर्सामा १२८ वटा आगलागीको घटना भएको प्रदेश प्रहरीको तथ्याङ्क छ । आगलागीका कारण प्रदेशमा १० महिनाभित्र करिब आधा अर्ब बराबरको धनमाल जलेर खरानी भएको तथ्याङ्क छ । प्रदेश प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार ८ वटै जिल्लामा ४४ करोड ५४ लाख ६४ हजार ४३२ रुपैयाँ बराबरको धनमाल जलेर खरानी भएको छ ।
प्रहरीका अनुसार सप्तरीमा ५ करोड ४१ लाख, सिरहामा ८ करोड २० लाख, धनुषामा ८ करोड ४९ लाख, महोत्तरीमा ४ करोड १४ लाख, सर्लाहीमा ३ करोड ४१ लाख रुपैयाँ बराबरको अनुमानित क्षति भएको छ । यसैगरी रौतहटमा ४ करोड ९८ लाख, बारामा ४
करोड १७ लाख र पर्सामा ५ करोड ७२ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरी विवरण छ । आगलागीका घटनाले प्रदेश आक्रान्त बनिरहँदा प्रदेश सरकार भने यसको नियन्त्रण तथा न्यूनीकरणमा खासै तदारुकताका साथ अघि बढ्न सकेको छैन ।