आधुनिक कृषि मेसिनले किसानलाई बाली भित्र्याउन सहज बनायो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र २७, शुक्रबार (१ दिन अघि)
  • १०३ पटक पढिएको
आधुनिक कृषि मेसिनले किसानलाई बाली भित्र्याउन सहज बनायो

रौतहट, २७ चैत। चन्द्रपुर क्षेत्रमा गहुँ काट्ने आधुनिक मेसिन कम्बाइन हार्भेस्टर प्रयोग बढ्दै जाँदा किसानलाई बाली भित्र्याउन सहज भएको छ । यस प्रविधिको प्रयोगले समय, श्रम तथा लागतमा समेत कमी आएको किसानहरू बताउँछन् ।

कम्बाइन हार्भेस्टरका चालक दिनेश सिंहका अनुसार उक्त मेसिनले एक घण्टामै करिब दुई बिघासम्म गहुँ, धान तथा मकै काटेर भित्र्याउन सक्ने क्षमता राख्छ । “पहिले धेरै दिन लाग्ने काम अहिले छोटो समयमा सम्पन्न गर्न सकिन्छ,” उहाँले बताउनुभयो ।

चन्द्रपुर नगरपालिका–१० का किसान दिपेन्द्र चौधरीले मेसिनको प्रयोगपछि बाली कटानी कार्य सहज बनेको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले गहुँ काट्नका लागि गाउँ–गाउँबाट श्रमिक खोज्नुपर्ने अवस्था थियो, अहिले त्यो समस्या हटेको छ । समयमै बाली भित्र्याउन पाउँदा वर्षाका कारण हुने नोक्सानी पनि कम भएको छ ।”

यस्तै अर्का किसान जितेन्द्र चौधरीका अनुसार आधुनिक मेसिनको प्रयोगले खेती प्रणालीमा सकारात्मक परिवर्तन आएको छ । उहाँले भन्नुभयो, “समयमै बाली भित्र्याउन सक्दा उत्पादन जोगिएको छ र खर्चसमेत घटेको छ । यसले किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गरेको छ ।”

अर्का किसान राम प्रवेश दासले पनि मेसिनको प्रयोगले श्रमिक अभावको समस्या समाधान भएको उल्लेख गर्नुभयो । उहाँका अनुसार, “मजदुर अभावका कारण बाली काट्न ढिलाइ हुने समस्या अब छैन । छिटो, सहज र भरपर्दो भएकाले यो मेसिन सबै किसानका लागि उपयोगी बनेको छ ।”

कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग विस्तार हुँदै जाँदा किसानहरू व्यावसायिक तथा आधुनिक खेतीतर्फ उन्मुख हुँदै गएको सरोकारवालाहरूले बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस