
वीरगञ्ज, १५ चैत। नवनियुक्त गृहमन्त्री सुधन गुरुंगले भुटानी शरणार्थी काण्ड र गौर हत्याकाण्डलाई प्राथमिकतामा राखेर कानुनी कारबाही अघि बढाउने आन्तरिक तयारी गरेकाे खुलेको छ। शनिबार एमाले र कांग्रेसका दुई शीर्ष नेतामाथि गरिएको कारबाहीपछि सरकार आगामी कदमहरू थप आक्रामक रूपमा अघि बढाउन लागिरहेको संकेत देखिएको छ।
स्रोतका अनुसार गृहमन्त्री गुरुंगको मुख्य टार्गेटमा अहिले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव रहेका छन्। भुटानी शरणार्थी प्रकरणमा बादलमाथि अनुसन्धान गर्ने तयारी भइरहेको छ भने १८ वर्षअघि रौतहटको गौरमा भएको घटनामा २७ जनाको मृत्यु र ५३ जना घाइते बनाइएको प्रकरणमा उपेन्द्र यादवमाथि कारबाही प्रक्रिया अघि बढाउन गृह मन्त्रालय सक्रिय देखिएको छ।
गौरीबहादुर कार्की नेतृत्वको आयोगले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख सिफारिसका आधारमा सरकारले शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई पक्राउ गरी अनुसन्धान सुरु गरिसकेको छ। सो घटनाले सरकार थप बलियो कदम चाल्न तत्पर रहेको बुझिएको छ।
यही तयारीलाई अघि बढाउँदै गृहमन्त्री गुरुंगले शनिबार बिदाको दिनमै मन्त्रालयमा सम्बन्धित फाइलहरू मगाई अध्ययन गरेको उच्च स्रोतले जनाएको छ। सरकार अहिले दुवै घटनालाई उच्च प्राथमिकतामा राखेर कारबाही प्रक्रियालाई तीव्रता दिन खोजिरहेको बताइन्छ।
आगामी दिनमा भुटानी शरणार्थी काण्ड र गौर घटनाका दोषीमाथिको कारबाही राजनीतिक रूपमा ठूलो प्रभाव पार्न सक्ने विश्लेषकहरूको मत छ।
