
रौतहट, ०४ चैत। जिल्ला प्रहरी कार्यालय रौतहटले फागुन महिनाको कार्यसम्पादन सार्वजनिक गर्दै अपराध नियन्त्रणदेखि उद्धारसम्म उल्लेखनीय गतिविधि भएको जनाएको छ ।
प्रहरी तथ्यांकअनुसार सो महिनामा विभिन्न प्रकृतिका ८२ मुद्दा दर्ता भएका छन् । जसमध्ये ज्यानसम्बन्धी ९ वटा, आत्महत्यासम्बन्धी ३२ वटा, संगठित तथा आर्थिक अपराधका १० वटा, सामाजिक अपराका १२ वटा, महिला तथा बालबालिकासम्बन्धी ३ वटा, सवारी ज्यानसम्बन्धी ४ र अन्य १२ वटा रहेका छन् । जघन्य अपराधतर्फ कर्तव्य ज्यान १ र बैंकिङ कसुरसम्बन्धी ७ गरी थप ८ मुद्दा दर्ता भएका छन् ।
फागुन महिनाभरि परेको १ सय ६० उजुरीमध्ये १ सय १ फछ्र्यौट भइसकेका छन् भने ५९ मुद्दा अनुसन्धानकै चरणमा छन् । लागूऔषध नियन्त्रण अभियान अन्तर्गत २४० ग्राम खैरो हिरोइनसहित ४ जना पक्राउ परेका छन् । सवारी दुर्घटनातर्फ फागुनमा ८७ दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १५७ जना घाइते भएका छन् ।
यस्तै, आत्महत्या प्रयासमा रहेका ३४ जनाको समयमै उद्धार गरी ज्यान जोगाइएको जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए । सुरक्षा चुनौतीका रूपमा देखिएको गौर–६ सबगढाको साम्प्रदायिक विवादमा २४ जना घाइते भएका थिए भने ५ सवारीसाधन जलेका र ३ घरमा क्षति पुगेको थियो ।
स्थिति नियन्त्रणका लागि प्रहरीले १५३ राउन्ड अश्रुग्यास र ३७ राउन्ड हवाई फायर गर्नुपरेको थियो । यसै अवधिमा १३ वटा आगलागीका घटनाबाट १ करोड १३ लाखभन्दा बढी क्षति भएको छ । घटनामा ३ जना घाइते भएका छन् भने १ सय ४ जनाको सुरक्षित उद्धार गरिएको रिजालले बताए ।
प्रहरीले अवैध गतिविधि नियन्त्रणमा पनि सक्रियता देखाउँदै ५० क्युफिट खयर काठसहित सवारीसाधन बरामद गरी १ लाख ५० हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ । साथै, हुन्डी कारोबारमा संलग्न एक जनामाथि सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता गरिएको छ ।
समुदाय–प्रहरी साझेदारीअन्तर्गत ७० जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिँदा १ हजारभन्दा बढी नागरिक लाभान्वित भएका छन् । विद्यालयमा साइबर अपराध, लागूऔषध र आत्महत्यासम्बन्धी कार्यक्रममार्फत ३२४ विद्यार्थी सहभागी गराइएको छ ।
प्रहरी परिचालनतर्फ मोबाइल, पैदल र ग्रामीण गस्ती गरी ७ हजारभन्दा बढी ड्युटी सञ्चालन गरिएको छ । साथै, ‘एक जिल्ला, एक समस्या’ अभियानअन्तर्गत लागूऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लिएर अभिमुखीकरणपछि अभिभावकको जिम्मा लगाइएको छ । हराएका तथा चोरी भएका ४ मोबाइल फेला पारेर सम्बन्धित धनीलाई बुझाइएको प्रहरीले जनाएको छ । जिल्लामा शान्ति सुरक्षा सुदृढ बनाउँदै नागरिकमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्दै प्रहरीले आगामी दिनमा स्थानीय तह र नागरिकसँग सहकार्य अझ मजबुत बनाउने प्रहरी प्रमुख रिजालले बताए ।
