तीन पूर्वप्रधानमन्त्रीमाथि सम्पत्ति शुद्धीकरण छानबिन सुरु

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र १५, आईतबार (११ घण्टा अघि)
  • १०७ पटक पढिएको
तीन पूर्वप्रधानमन्त्रीमाथि सम्पत्ति शुद्धीकरण छानबिन सुरु

काठमाडौँ, १५ चैत। तीन पूर्व प्रधानमन्त्रीको सम्पत्तिमाथि अनुसन्धान गर्न थालिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रको आधारमा प्रहरीले पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले त्यसबारे अनुसन्धान अघि बढाएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले बताए । ती अधिकृतले भने, ‘उहाँहरूको सम्पत्तिमाथि अनुसन्धान गर्ने सिलसिलामा आज बिहान पूर्वमन्त्री दीपक खड्कालाई नियन्त्रणमा लिइएको हो ।’

खड्कामाथि अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरणले नै सीआईबीलाई पत्राचार गरेको थियो । सीआईबीले कांग्रेस नेता समेत रहेका दीपक खड्कालाई हिरासतमा राखेर अनुसन्धान गर्न आइतबार अदालतबाट म्याद लिँदैछ ।

प्रहरीले पूर्व प्रधानमन्त्रीहरूको चल, अचल सम्पत्ति र आम्दानीको स्रोत लगायतको विषयमा अनुसन्धान गर्नेछ ।

भदौ २४ मा भएको आगजनीमा पूर्वप्रधानमन्त्री देउवा र दाहालको घरमा जलेको रकमको टुक्रा भेटिएको थियो । पूर्वमन्त्री खड्काको घरमा पनि जलेको रकम भेटिएको थियो ।

अनुसन्धानको लागि स्थानीय प्रशासनले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित भवन भत्काउन रोक लगाएको छ । जेनजी प्रदर्शनमा आगजनी भएको घर भत्काएर त्यहाँ नयाँ संरचना बनाउन खोजिँदैछ । तर, जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्देशनमा भत्काउन रोक लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए ।

प्रहरीले भत्काउन रोक लगाएर त्यहाँ कार्यरत कामदार हटाएको छ । भदौ २४ मा प्रदर्शनकारीले आगजनी गर्दा जलेको अवस्थामा डलर र नेपाली रुपैयाँ भेटिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले त्यसबेला नै सो रकम सङ्कलन गरेर राखेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस