पर्सा-२ का सांसद सुशील कानुले भोजपुरी भाषामा शपथ लिने

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र १०, मंगलबार (१५ घण्टा अघि)
  • ८८ पटक पढिएको
पर्सा-२ का सांसद सुशील कानुले भोजपुरी भाषामा शपथ लिने

वीरगञ्ज, १० चैत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुशील कुमार कानुले भोजपुरी भाषामा पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

सङ्घीय संसद् सचिवालयले तय गरेको कार्यतालिका अनुसार पर्सा–२ मा निर्वाचित प्रतिनिधिसभा सदस्य कानुले आफ्नो मातृभाषा भोजपुरी रोजेका हुन् ।

भोजपुरी भाषा तराई–मधेस क्षेत्रको मुख्य भाषा भएको र आफ्नो व्यक्तिगत पहिचान तथा अस्मितासँग पनि गहिरो रूपमा जोडिएको हुनाले शपथका लागि आफूले भोजपुरी भाषा रोजेको उनले बताए । “भोजपुरी मेरो मातृभाषा मात्र होइन, यो मेरो पहिचान र अस्मिता पनि हो । तराई–मधेसको भाषालाई राष्ट्रिय स्तरमा पहिचान दिलाउन यो एउटा सानो प्रयास हो,” कानुले भने ।

योसँगै उनीसहित विभिन्न दलका करिब दुई दर्जन सांसदहरूले आफ्नो मातृभाषा वा रुचिअनुसारका भाषामा शपथ लिने विवरण संसद् सचिवालयमा बुझाएका छन् । यस पटकको शपथ ग्रहणमा भोजपुरी, नेपाल भाषा (नेवारी), मैथिली, डोटेली, थारु, तामाङ, संस्कृत र बान्तवा लगायतका भाषाहरू प्रयोग हुने भएका छन् ।

सङ्घीय संसद् सचिवालयले नेपाली भाषाबाहेक अन्य भाषामा शपथ लिन चाहने सांसदहरूलाई सोमबारसम्म नाम दर्ता गराउने समयसीमा दिएको थियो ।

नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण कार्यक्रम चैत १२ गते बिहीबार दिउँसो २ बजे सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा हुने भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस