पोखरामा ट्रान्सपार्टी प्रकरण, १२ जना पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र १७, मंगलबार (१० घण्टा अघि)
  • ९६ पटक पढिएको
पोखरामा ट्रान्सपार्टी प्रकरण, १२ जना पक्राउ

पोखरा, १७ चैत। पोखरामा विदेशीसँग मिलेर ट्रान्सपार्टी आयोजना गरेको आरोपमा १२ जना पक्राउ परेका छन् ।

अवैध रूपमा ट्रान्सपार्टी भइरहेको सूचना पाएपछि कास्की प्रहरीले छापा मारेको हो । पोखरा १८ मा बमेन्द्र पुनले भाडामा लिएको घरमा पार्टी सञ्चालन गरिएको हो । स्थानीय कृष्ण पराजुलीको पुरानो घर भाडामा लिई बमेन्द्र लगायतको समूहले ट्रान्स पार्टी आयोजना गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

लागुऔषधको खुला बिक्री वितरण तथा सेवन भइरहेको विशेष सूचना प्राप्त भएपछि प्रहरीले मध्यरातमा छापा मारेको कास्की प्रहरीका प्रवक्ता डीएसपी हरीबहादुर बस्नेतले जानकारी दिए । घटनास्थलबाट ९ प्रकारका लागुऔषध बरामद भएको छ भने विदेशीसहित १२ जना पक्राउ परेका छन् ।

पक्राउ परेकामध्ये ८ जनालाई लागुऔषध र ४ जनालाई अभद्र व्यवहारको मुद्दा चलाइएको उनले बताए ।

उक्त स्थानबाट एमडीएमए, चरेश, कोकिन, खात, आइस/एम्फेटामाइन, पोल्यान, म्याजिक मसरुम, पेपर एलएसडी, झोल एलएसडी बरामद भएका छन् । घटनामा संलग्न भएको आरोपमा २ जना भारतीयसहित ब्राजिलका १ जना पनि पक्राउ परेका छन् । भारतकी ३१ वर्षीया सृष्टि चन्द, ३५ वर्षका अनुभव शर्मा र ब्राजिलका ४८ वर्षका चार्ल्स गुवाईवा पक्राउ परेका हुन् ।

यस्तै पोखरा ६ का ३२ वर्षीय बमेन्द्र पुन, २७ वर्षका विशाल परियार, पोखरा ५ का २५ वर्षीय आशीष दर्जी, दाङका २९ वर्षीय सौरभ महरा पक्राउ परेका छन् । काठमाडौँका २१ वर्षीय निकुञ्ज कार्की, ३१ वर्षका सक्षम कोइराला, रोशन अधिकारी, २८ वर्षका विवेक परियार र २६ वर्षका लोक बहादुर घर्ती मगर पनि पक्राउ परेका छन् ।

प्रहरीले पक्राउ परेका सबैलाई हिरासतमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ । विदेशी नागरिकसमेत संलग्न भई लागुऔषधसहित पार्टी सञ्चालन हुनु गम्भीर घटना भएको प्रहरीले जनाएको छ । उक्त पार्टी भारतीय अनुभव शर्मा र नेपालकै बमेन्द्रले आयोजना गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस