मोतिहारीमा विषाक्त मदिरा काण्ड: ४ जनाको मृत्यु, ७ को अवस्था गम्भीर

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र २०, शुक्रबार (१२ घण्टा अघि)
  • ९५ पटक पढिएको
मोतिहारीमा विषाक्त मदिरा काण्ड: ४ जनाको मृत्यु, ७ को अवस्था गम्भीर
मोतिहारी, २० चैत । सीमावर्ती भारतको बिहारको मोतिहारी जिल्लामा विषाक्त मदिरा सेवनका कारण चार जनाको मृत्यु भएको छ भने सात जना अस्पतालमा जिवनमरणको दोसाँधमा रहेका छन् ।
विहारमा मदिरा माथि प्रतिबन्ध लागु भएपनि अवैध रूपमा उत्पादन तथा बिक्री हुने मदिराका कारण यस्ता दुःखद घटना पटक–पटक दोहोरिदै आएका हुन् ।
स्थानीयका अनुसार मदिरामा पूर्ण रुपमा प्रतिबन्ध रहेपनि यसको कारोवार झन् मौलाउदै गएको छ ।
मोतिहारी जिल्लाका एसपी स्वर्ण प्रभातले विषक्त मदिरा सेवनबाट चार जनाको मृत्यु भएको पुष्टि गर्दै सात जनाको अवस्था नाजुक रहेको हुँदा उनीहरुको अस्पतालमा उपचार भईरहेको बताए ।
घटनामा संलग्न चौकीदार भरत राय र मुख्य आरोपी नागा रायलाई परिवारका महिला सहित पक्राउ गरिएको छ । साथै, तुरकौलिया क्षेत्रका प्रहरी इन्चार्ज उमाशंकर मांझीलाई निलम्बन गरिएको छ ।
मृतक मध्ये स्थानीय युवक चन्दू पनि रहेका छन्, जसको हतारमा अन्त्येष्टि गरिएको बताइएको छ । अस्पतालमा उपचाररत लोहा ठाकुरले मंगलबार राति स्प्रिट मिसिएको मदिरा सेवन गरेपछि स्वास्थ्य अचानक बिग्रिएको थियो । मदिरा सेवन गर्नेहरुमा कतिपयको आँखाको ज्योति समेत गुमेको बताइएको छ ।
मृतकका आफन्तहरूले मदिरा बन्दी भएपनि अवैध मदिरा कारोबार नियन्त्रण गर्न नसक्नु नै यस्ता घटनाको मुख्य कारण भएको आरोप छ । उपचारमा संलग्न चिकित्सकहरूले समेत विषाक्त मदिराको असरका कारण केही बिरामीले दृष्टि गुमाएको पुष्टि गरे ।
स्मरणीय छ, तीन वर्षअघि पनि मोतिहारीमै विषाक्त मदिरा सेवनका कारण ४५ जनाको मृत्यु भएको थियो । बारम्बार दोहोरिने यस्ता घटनाले प्रशासनिक कमजोरीमाथि गम्भीर प्रश्न खडा गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस