रौतहटमा वन संरक्षणका लागि नौलो प्रयोग सुरु

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र ६, शुक्रबार (१ हप्ता अघि)
  • ८२ पटक पढिएको
रौतहटमा वन संरक्षणका लागि नौलो प्रयोग सुरु

रौतहट, ०६ चैत। रौतहटको चन्द्रपुर र गुजरा नगरपालिकामा सञ्चालित जलवायु जोखिम न्यूनीकरण परियोजनाअन्तर्गत आयोजित वृक्षारोपण प्रतियोगितामा चन्द्रपुर–२ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूह पहिलो भएको छ ।

चन्द्रपुर ९  र गुजर १ गरी कुल १० सामुदायिक वन समूहले भाग लिएका सो प्रतियोगिताले वन संरक्षण र वृक्षारोपणमा प्रेरीत गर्ने उद्देश्यसहित अक्सफाम नेपाल र ग्रामीण विकास केन्द्र नेपालको संयुक्त साझेदारीमा सञ्चालित ‘जलवायु जोखिम तथा संकटासन्नताको लागि सामुदायिक उत्थानशील परियोजना’ अन्तर्गत आयोजित प्रतियोगिता ५ जुन २०२५ (विश्व वातावरण दिवस) देखि सुरु भएको थियो । सहभागी समूहहरूले १९.५ हेक्टर खाली र बाँझो जमिन, नदीले छोडेका क्षेत्र तथा वनविहीन भूभागमा ३१,०१५ विरुवा रोपी वृक्षारोपण गरेका थिए ।

वृक्षारोपणले वातावरणमा हरियाली वृद्धि, कार्बन डाइअक्साइड अवशोषण, माटो क्षय नियन्त्रण, पानी स्रोत संरक्षण र जैविक विविधता संरक्षणमा सहयोग पुर्‍याउने रौतहटका डिभिजन वन कार्यालय प्रमुख हेमन्त साहले बिश्वास ब्यक्त गरे । मूल्याङ्कन समितिको मूल्याङ्कनमा हरियाली सामुदायिक वनले ७६ अंक प्राप्त गर्दै प्रथम स्थान पाएको छ भने सखुवानी सामुदायिक वन ५८ अंकसहित द्वितीय र चन्द्रपुर–४ स्थित जनएकता सामुदायिक वन ५७ अंकसहित तृतीय बनेको छ ।

प्रथम हुने हरियाली सामुदायिक वनलाई करिब एक लाख रुपैयाँ बराबरको सामग्री, जसमा टेबल, अफिस कुर्सी, ३५ अतिथि कुर्सी र एक सेट सोफा प्रदान गरिएको छ । द्वितीय सखुवानी सामुदायिक वनले करिब ५० हजार रुपैयाँ बराबरको कम्प्युटर सेट प्राप्त गरेको छ भने तृतीय जनएकता सामुदायिक वनलाई २६ हजार ८ सय ५० रुपैयाँ बराबरको चश्मा, गन बुट र कुर्सी प्रदान गरिएको अक्सफाम नेपालका प्रतिनिधि विवेक कार्की, मूल्याङ्कन समितिकी संयोजक महालक्ष्मी शर्मा, फेकोफन, चन्द्रपुर नगरपालिका तथा सामुदायिक वन प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै हरियाली सामुदायिक वनका अध्यक्ष धनप्रसाद प्रसाईले वन सरसफाइ र वृक्षारोपण सामुदायिक वनको प्रमुख दायित्व भएको बताउँदै पुरस्कारले समूहलाई थप उत्साहित बनाएको बताए ।  वातावरण संरक्षणप्रति सचेत बनाउने, हरियाली प्रवद्र्धनमा प्रतिष्पर्धात्मक भावना विकास गर्ने र भावी पुस्ताका लागि स्वच्छ वातावरण निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले गरिएको कार्यक्रममा सहभागी १० वटै सामुदायिक वनका पदाधिकारीहरूलाई सम्मान समेत गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस