रौतहट सीमामा तस्करी रोकिएन, गतिविधि निरन्तर

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र ६, शुक्रबार (१ हप्ता अघि)
  • १४३ पटक पढिएको
रौतहट सीमामा तस्करी रोकिएन, गतिविधि निरन्तर

रौतहट, ०६ चैत। सीमावर्ती विभिन्न चोर नाकाहरूबाट ठूलो परिमाणमा कृषिजन्य र खाद्यान्नका सामग्री तथा अन्य सामान भारत र नेपालमा तस्करी भइरहेको तथ्य सार्वजनिक भएको छ। स्थानीय स्रोतका अनुसार भारतीय बजारबाट काजु, मिठाइ, मटर, चिनी, केरा, हार्डवेयर, चिया सिडको बीउ, गुणस्तरहीन रासायनिक मलखाद, ब्याट्री लगायतका सामग्री नेपाल भित्र्याउने गरिएको छ।

नेपालबाट अवैध रूपमा भारतीय बजारमा काक्रोको बीउ, स्याउ, लसुन, ओखर, किसमिस, चाइनिज लाइटर, इलाइची, चाइनिज चुरोट, पपकर्न मकै लगायतका सामग्री नियमित तस्करी भइरहेको पाइएको तथ्य सार्वजनिक भएको हो।

उक्त तस्करीको कारोबारमा राजपुर फरहदवा आलम ईँटाका सञ्चालक खुर्सिद आलम, मनसरिका रैइस मियाँ, सागिर मियाँ, महुलियाका मिस्रीलाल साह र भारत, बिहार, कुडवा चैनपुर पारसा टोलका धर्मजित, संजय सानो, गुड्डु लगायतका व्यक्तिहरू सक्रिय रहेको बताइन्छ।

उनीहरूले रौतहटको राजपुर नगरपालिका र ईशनाथ नगरपालिका क्षेत्रअन्तर्गत रहेको महुलिया सिमानाका हुँदै भारतको बिहार, मोतिहारी जिल्ला नजिकको कुडवा चैनपुर कालिमन्दिरको छेउका चोर नाकाहरू प्रयोग गरी नेपाल र भारततर्फ सामान निर्वाध रूपमा तस्करी गर्दै आएका छन्।

यसका साथै अवैध रूपमा तस्करीका सामग्रीहरू राजपुर नगरपालिकाको कुडिया पेट्रोल पम्पको पश्चिम, मदरसा छेउमा बाँसको झाङमा रहेको शेख मजरुलहकको भुजा मिलमा भण्डारण गर्ने कार्य गरी सो ठाउँबाट ट्रक र ट्र्याक्टरबाट सीमावर्ती नाकाबाट पनि अवैध रूपमा राजस्व छलीका सामानहरू तीव्र गतिमा ओसारपसार भइरहेको स्रोतले जनाएको छ।

स्रोतका अनुसार ती कारोबारीहरूले नेपालबाट अखरोट, स्याउ र फर्सीको बीउ भारततर्फ पठाउने तथा भारतबाट कपडा, दैनिक उपभोग्य खाद्यान्न र सवारी साधनका स्पेयर पार्ट्स नेपाल भित्र्याउने गरेका छन्।

स्थानीयले यस गतिविधिमा सुरक्षाकर्मीको मिलेमतो रहेको आरोपसमेत लगाएका छन्। उनीहरूका अनुसार स्थानीय प्रहरी चौकी तथा सीमा क्षेत्रमा तैनाथ रहेको बिओपी प्रमुखको संरक्षणमा तस्करीको कारोबार हुँदै आएको दाबी गरिएको छ। सुरक्षा निकायका प्रमुखहरूले मासिक रकम लिएर तस्करीलाई सहज बनाइदिएको आरोप छ।

यद्यपि यस विषयमा आधिकारिक रूपमा सम्बन्धित सुरक्षा निकायबाट स्पष्ट प्रतिक्रिया आउन सकेको छैन। स्थानीय स्रोतहरूले सीमावर्ती क्षेत्रमा बढ्दै गएको तस्करी नियन्त्रण गरी कडा निगरानी बढाउन संगठनप्रति पूर्ण इमान्दार नभएसम्म यस्ता अवैध कारोबार नियन्त्रण गर्न निकै चुनौतीपूर्ण बनेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस