
विराटनगर, ११ चैत। आफ्नै सिटी सफारी ( ई-रिक्सा) चढेकी किशोरीलाई अपहरण गरी बलात्कार गरेको आरोपमा सुनसरीमा चालक पक्राउ परेका छन् ।
प्रहरीले रामधुनी नगरपालिकाका रोशनबहादुर विश्वकर्मालाई पक्राउ गरेको हो । किशोरीको किटानी जाहेरीमा आरोपितले धरानस्थित साकेला पार्क नजिकको जंगलमा लगेर हात बाँधेर कुटपिट गर्नुका साथै जबर्जस्ती करणी गरी मोबाइल लुटेर लगेको उल्लेख छ ।
इलाका प्रहरी कार्यालय धरानका अनुसार चैत ६ गते साँझ १९ वर्षीया ती युवती सफारीमा चढेपछि अपहरणमा परेकी हुन् । उनलाई विश्वकर्माले गलत बाटोबाट जंगल लगेर बलात्कार र लुटपाट गरेको पाइएको प्रहरीले जनाएको छ ।
घटनास्थल आसपासका सीसीटीभी फुटेजको सूक्ष्म अध्ययन गरेको र फुटेजका आधारमा सवारीसाधनको पहिचान भएको उनको भनाइ छ ।
