सुधन गुरुङ गृह मन्त्री बनेपछि ९ जना ‘हाइप्रोफाइल’ पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र २४, मंगलबार (४ घण्टा अघि)
  • १३४ पटक पढिएको
सुधन गुरुङ गृह मन्त्री बनेपछि ९ जना ‘हाइप्रोफाइल’ पक्राउ

काठमाडौं, २४ चैत्र । जेनजी आन्दोलनका अगुवा सुधन गुरुङले चैत १३ मा गृह मन्त्रालयको नेतृत्व सम्हालेसँगै ९ जना ‘हाइप्रोफाइल’ पक्राउ परेका छन् ।

बालेन शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषदको पहिलो बैठकले गौरीबहादुर कार्की आयोगले गरेको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेपछि गृहमन्त्री गुरुङले आईजीपी दान बहादुर कार्की र सशस्त्र प्रहरीका आईजी राजु अर्याललाई सिंहदरबारमा बोलाएर पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न निर्देशन दिए । आयोगले भदौ २३ मा भएको जेनजी आन्दोलनमाथि दमन गर्नेमा ओली र लेखकसहित विभिन्न अधिकारी जिम्मेवार रहेको ठहर गरेको छ ।

उनीहरूलाई पक्राउ गर्दा आइपर्ने चुनौतीबारे दुई वटा सुरक्षा संगठनका प्रमुखले गृहमन्त्री गुरुङलाई ब्रिफिङ गरे । दुवै संगठन प्रमुखले अदालतबाट पक्राउ अनुमति लिएर पक्राउ गर्नुपर्ने सुझाएका थिए ।

तर, गृहमन्त्री गुरुङले ‘जरुरी पक्राउ पुर्जी’ दिएर पक्राउ गर्न सुरक्षा प्रमुखहरूलाई दबाब दिइरहे । चैत १३ गते रातभर उनी नक्सालस्थित आईजीपीको निवासमा बसे, जहाँ आईजीपी कार्की र सशस्त्रका आईजी अर्याल पनि थिए ।

चैत १४ गते बिहान साढे ४ बजेतिर प्रहरीका एसएसपीद्वय होबिन्द्र बोगटी र सन्तोष खड्काको टिम जरुरी पक्राउ पुर्जी लिएर भक्तपुरस्थित ओली निवासमा पुगेपछि बल्ल गृहमन्त्री गुरुङ आईजीपी निवासबाट निस्किएको प्रहरीका एक जना उच्च अधिकृतले बताए ।

पूर्वप्रधानमन्त्रीलाई पक्राउ गर्दा आउने सम्भावित सुरक्षा चुनौती सामना गर्ने सुरक्षा योजना नक्सालमै स्वीकृत गरिएको थियो । पक्राउ गर्नेबारे मन्त्रिस्तरीय निर्णय गुरुङले नक्सालमै बसेर गरे । आईजीपीले त्यसबारे लिखित पत्राचार गर्न आग्रह गरेपछि गृहले प्रहरीलाई लिखित पत्राचार गरेको थियो । त्यसपछि केपी शर्मा ओली र रमेश लेखक पक्राउ परेका हुन् ।

स्वास्थ्य समस्याका कारण ओली त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् । लेखकलाई महाराजगञ्जस्थित सशस्त्र प्रहरी नम्बर–२ गणमा राखिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले ओली र लेखकलाई चैत २५ भन्दापछि थुनामा नराख्न आदेश गरेको छ ।

जेनजी आन्दोलन हुँदा काठमाडौँको प्रमुख जिल्ला अधिकारी रहेका छवि रिजाल गृहमन्त्रीकै आदेशमा पक्राउ परे । चैत १७ मा पक्राउ परेका रिजाललाई प्रहरीले ‘हाजिर जमानी’मा छाडेको छ । सहसचिव रिजाल पक्राउ परेकै दिन बोलाएको समयमा उपस्थित हुनेगरी छुटेका हुन् ।

जेनजी आन्दोलनका क्रममा बानेश्वरमा किशोरहरूको ज्यान जानेगरी गोली चलाउन आदेश दिएको भनेर रिजालको तीव्र आलोचना भइरहेको छ । गौरीबहादुर कार्की नेतृत्वको आयोग समक्ष रिजालले आफूले घातक हतियारबाट गोली प्रहार गर्ने आदेश नदिएको बयान दिएका छन् ।

चैत १३ गते मन्त्रिपरिषद्ले कार्की आयोगको सिफारिस कार्यान्वयन गर्नेबारे दुईथरी निर्णय गरेको थियो । पहिलो निर्णय थियो, ‘उल्लेखित आयोगले सिफारिस गरेको व्यक्ति र निकायमध्ये सुरक्षा संयन्त्रको हकमा अध्ययन समिति गठन गरी सो समितिले पेस गरेको सिफारिस बमोजिम गर्ने ।’

अर्को निर्णय थियो, ‘अन्यको हकमा सो आयोगले गरेको सिफारिसलाई तत्काल कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिने ।’

मन्त्रिपरिषद्को पहिलो निर्णयलाई व्याख्या गर्दै रिजाललाई अनुसन्धान नगरिएको सुरक्षा अधिकारीहरू बताउँछन् ।

नेकपा एमालेका प्रदेश समिति सदस्य कर्ण बहादुर मल्ल चैत १४ गते नै पक्राउ परे । पूर्वसभासद् समेत रहेका मल्लविरुद्ध बलात्कार सम्बन्धी कसुरमा जाहेरी दर्ता भएको थियो । मुगु घर भएका मल्लविरुद्ध एक जना युवतीले जिल्ला प्रहरी परिसर ललितपुरमा बलात्कारको जाहेरी दिएकी थिइन् ।

बालकुमारीको एक होटलमा आफूलाई मल्लले बलात्कार गरेको ती युवतीको आरोप छ । मल्ललाई जिल्ला प्रहरी परिसर ललितपुरले थुनामा राखेर अनुसन्धान गरिरहेको छ ।

गृहमन्त्री गुरुङकै निर्देशनमा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि हाइप्रोफाइलहरू धमाधम पक्राउ परिरहेका छन् । चैत १५ मा पूर्वमन्त्री दीपक खड्का पक्राउ परे । उनीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।

खड्कालाई स्वास्थ्य समस्या देखिएपछि अहिले त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । खड्कामाथिको अनुसन्धान सकिएको छैन ।

व्यवसायी दीपक भट्टलाई प्रहरीले चैत १९ गते नक्सालबाट पक्राउ गरेको थियो । भट्टमाथि पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।

शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परेर छुटेका छन् । चैत २० मा पक्राउ परेका अग्रवालसँग बयान लिएर छाडिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरले रातोपाटीलाई बताए ।

शंकरका पुत्र सुलभ अग्रवाल पनि पक्राउ परेका छन् । शंकर ग्रुपका सञ्चालक सुलभ अहिले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासमा छन् ।

रेखा रिहा

लुम्बिनी प्रदेश सभा सदस्य रेखाकुमारी शर्मा चैत १६ गते पक्राउ परिन् । काठमाडौँ–४ स्थित धुम्बाराहीमा बस्ने शर्माविरुद्ध घरमा काम गर्ने बालिकालाई यातना दिएर बालबालिका सम्बन्धी कसुर गरेको आरोप थियो ।

यसअघि महान्यायाधिवक्ताको कार्यालयबाट २०८२ जेठ १६ मा उनीविरुद्ध मुद्दा नचल्ने निर्णय भएको थियो । सोही विषयमा शर्मालाई थुनामा राख्नु नपर्ने भन्दै चैत २२ मा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेलले उनलाई रिहा गर्न आदेश दिए ।

सो आदेश अनुसार प्रहरीले शर्मालाई हिरासत बाहिर राखेर अनुसन्धान गरिरहेको छ । सांसद शर्माको घरबाट २०८१ जेठमा काठमाडौँ महानगरपालिकाको टोलीले एक बालिकाको उद्धार गरेको थियो ।

प्रशिक्षार्थी विद्यार्थीले सर्भे गर्दा ती बालिका ६ वर्षदेखि सांसद शर्माको घरमा बसेर काम गरिरहेको थाहा भएको थियो । ती बालिकले आफूमाथि कुटपिट हुने गरेको बताएकी थिइन् । शर्माको परिवारले हात र पाइपले पिट्ने गरेको भन्दै बालिकाले घरमा पोछा लगाउने, खाना बनाउने, बिरुवामा पानी हाल्ने लगायतका काम गर्नुपरेको खुलाएकी थिइन् ।

उनले ६ वर्षदेखि परिवार भेट्न नपाएको र दसैँमा समेत घर जान नदिने गरेको गुनासो गरेकी थिइन् ।

हाइप्रोफाइल मात्र होइन, प्रहरीले पछिल्लो समय ३३ गुण्डालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । चैत २०  र चैत २१ मा अप्रेसन चलाएर प्रहरीले गुण्डाहरू पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले भने, ‘गुण्डागर्दीमा संलग्न ३३ जना अहिले हिरासतमा छन् ।’

प्रहरीले उनीहरूमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएको छ । यसअघि पनि पक्राउ परेकाहरूलाई ‘पटके’ कायम गरेर कसुर मागदाबी गर्दै अदालतमा मुद्दा लैजाने प्रहरीको तयारी छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ प्रधानमन्त्री भएपछि प्रहरीले गुण्डागर्दीविरुद्ध अप्रेसन तीव्र पारेको चर्चा छ । प्रहरी अधिकृतहरू भने त्यसअघि नै गुण्डाहरूविरुद्ध निगरानी भइरहेको बताउँछन् ।

गुण्डागर्दीमा संलग्न धेरैले काठमाडौँ छाडेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले रातोपाटीलाई बताए । उनले भने, ‘काठमाडौँमा हप्ता असुली, धाकधम्की र बिचौलियाको भूमिका निर्वाह गर्नेहरूमध्ये धेरै जना फरार भएका छन् ।’

उनीहरूमाथि निगरानी गरिरहेको प्रहरीको दाबी छ ।

यी हुन् पक्राउ परेका उच्च पदस्थ

  • केपी शर्मा ओली, चैत १४ (पूर्वप्रधानमन्त्री)
  • रमेश लेखक, चैत १४ (पूर्वगृहमन्त्री)
  • कर्ण मल्ल, चैत १४ (पूर्वसभासद्)
  • दीपक खड्का, चैत १५ (पूर्वमन्त्री)
  • रेखा शर्मा, चैत १६ (प्रदेश सांसद)
  • छवि रिजाल, चैत १७ (काठमाडौँका पूर्व प्रजिअ)
  • दीपक भट्ट, चैत १९ (व्यवसायी)
  • शंकरलाल अग्रवाल, चैत २० (शंकर समूहका अध्यक्ष)
  • सुलभ अग्रवाल, चैत २२ (शंकर समूहका सञ्चालक)

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस