
रौतहट, ०३ चैत। गए राति आएको हावाहुरीले किसानले लगाएको अन्नबालीदेखि केरा खेतीमा ठूलो नोक्सानी पुगेको छ । चन्द्रपुर–३ गैडाटारमा हुरीबतासले किसानहरूको सयौं बिगाहामा लगाइएको केरा खेती अनि उनीहरुको मेहनतसँगै आशामाथि पनि गहिरो चोट पुर्याएको छ ।
करिब दुई घण्टा चलेको तीव्र हुरीले यस क्षेत्रका सयौं बिघा जमिनमा फैलिएको केरा खेतीमा ठूलो क्षति पुर्याएको स्थानीय जीवन कटुवालले जानकारी दिए । हावाहुरीले पाक्ने समयको केराका बोटहरू जरैबाट उखेलिदिदा किसान चिन्तित बनेका छन् ।
धेरैजसो केराका बोट बीचैमा भाँचिएर ढलेका छन् । ठीक यही समय, जब केरा पसाएर पाक्ने तयारीमा थियो, त्यही बेला आएको विपत्तिले किसानहरूको वर्षौंदेखिको परिश्रम एकैछिनमा तहसनहस बनाई दिएको स्थानीय किसानले दुःखेसो पोखे ।
सोमबार राति आएको हावाहुरीका कारण रौतहटको उत्तरी भेगका किसानको मकै बालीमा समेत ठूलो क्षति पुगेको छ । हावाहुरीका कारण जिल्लाको चन्द्रपुर, वृन्दावन, गुजरा र फतुवा विजयपुर नगरपालिकाका किसानले लगाएको मकै बालीमा व्यापक हानी नोक्सानी भएको छ ।
हावाहुरीका कारण मकैमा घोगा लाग्ने महत्वपूर्ण समयमा बाली ढलेपछि उत्पादनमा गम्भीर असर पर्ने देखिएको वृन्दावन नगरपालिका–१ का वडा अध्यक्ष रामनाथ सहनीले बताए । वृन्दावन नगरपालिका क्षेत्रमा लगाइएको करिब ६ सय बिघा मकैमध्ये झण्डै २ सय बिघा क्षेत्रमा हावाहुरीका कारण मकै बाली ढलेर क्षति भएको सहनीले बताए ।
वृन्दावन–१ का किसान शम्भु राउतले धेरै मेहनत गरेर हुर्काएको मकै घोगा लाग्ने बेलामै ढल्दा आर्थिक भार थपिएको बताए । ‘अब मकै खेती गर्नै नसकिने भयो, कहिले मौसमले क्षति पुर्याउँछ त कहिले मलखाद्य पाइँदैन । अब खेती गर्न मुस्किल जस्तो भयो’, उनले भने ।
‘हरेक वर्ष प्राकृतिक विपत्तिका कारण क्षति भोग्नुपर्छ, तर किसानलाई कुनै निकायबाट सहयोग हुँदैन, यो दुःखान्त कसैले देख्दैन’, उनी भन्छन्, ‘स्थानीय सरकार नामको मात्र भयो, किसान सधैं ऋणमै बाँच्नु पर्ने अवस्था आयो ।’
उता, चन्द्रपुर नगरपालिका–१० का किसान दिपेन्द्र चौधरीले मकै बालीमा भएको क्षतिको विवरण संकलन गर्न समेत सम्बन्धित निकाय नआएको गुनासो गर्दै स्थानीय तहबाट किसानलाई वास्ता नगरिएको बताए । गुजरा नगरपालिकाका स्थानीय आत्माराम साहले मकै बाली ढलेपछि आफ्नो सपना समेत ढलेको बताए ।
हावाहुरीका कारण किसानको विभिन्न बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र रौतहटले जनाएको छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सरोज मण्डलले हालसम्म क्षतिको पूर्ण विवरण संकलन हुन बाँकी रहेको जानकारी दिए । खेती किसानीमै निर्भर यस भेगका किसानलाई ठूलै बज्रपात परेको छ ।
