कम मत पाएपछि ऋषि धमला भन्छन्: मतदातालाई बोराका बोरा पैसा बाँडियो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ फागुन २४, सोमबार (१ दिन अघि)
  • १२४ पटक पढिएको
कम मत पाएपछि ऋषि धमला भन्छन्: मतदातालाई बोराका बोरा पैसा बाँडियो

रौतहट, २५ फाल्गुन । रौतहट–४ को प्रारम्भिक मतगणनामा पूर्व पत्रकार ऋषि धमलाको स्थिति नाजुक देखिएको छ । उनी आफ्नो मत सङ्ख्या तीन अंकमा पुर्याउन संघर्ष गरिरहेका छन् ।

चुनावअघि धमला सामाजिक सञ्जालमा हटकेक बनेका थिए । मतदाताहरूलाई रिझाउन अनेकन् हर्कत गरेका भिडिओ क्लिपहरू भाइरल भए । उनले के मात्रै गर्न बाँकी राखेका थिएनन् । मतदाताहरूको घरदैलोदेखि खेत खलियानमा पुगेर उनीहरूको काममा सघाए, बिरामीलाई औषधि खुवाए, अंकमाल गरेर रोए, कराए । सबै गर्दा पनि मतपरिणाममा भने चरम निराशा हात लागेको छ ।

प्रतिस्पर्धीभन्दा निकै पछाडि परेपछि धमलाले करोडौँ पैसाको चलखेल भएको आरोप लगाएका छन् । अन्य पार्टीका उम्मेदवारहरूले रातारात बोराका बोरा पैसा निर्वाचन क्षेत्रमा खन्याएका उनको दाबी छ ।

नेपालप्रेससँग कुरा गर्दै उनले भने, ‘यहाँ रातारात बोराका बोरा पैसा बाँडिएको छ । अन्य दलका उम्मेदवारहरूले ३५/४० करोड खर्च गरेका छन् । मतदातापिच्छे ५/१० हजार पैसा बाँडिएको छ ।’

यसरी पैसा खर्च गर्ने आफ्नो सामर्थ्य नभएका कारण मतपरिणाममा आफू पछि परेको धमलाको भनाइ छ । आफूले निर्वाचन लडेको रौतहट–४ निकै नै पिछडिएको र जनताहरू पनि अशिक्षित भएका कारण अन्य दलका उम्मेदवारले मतदातालाई खरिद गरेको बताए ।

तर, जे जस्तो भएपनि आफूले लोकतन्त्रमा  मत परिणामलाई स्वीकार गर्नुको विकल्प नभएका उनको भनाइ छ । धमलाले भने, ‘लोकतन्त्रमा मत परिणामलाई स्वीकार गर्नुको विकल्प छैन ।’

तर, त्यसरी पैसा बाँडेर आएको मत परिणामलाई कसरी स्वीकार गर्ने त ? भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘यहाँका जनताको सोझोपन र अशिक्षाको उनीहरूले फाइदा उठाए ।’

अहिले देशैभर राष्ट्रिय स्वतन्त्र पार्टीमा देखिएको प्रारम्भिक रुझानप्रति भने धमला सकारात्मक छन् । जनताले परिवर्तन चाहेको आफूलाई पहिल्यैदेखि थाहा भएको र जनताको त्यो चाहना रास्वपामा पोखिएको बताए ।

उनले भने, ‘अब बन्ने बालेन नेतृत्वको सरकारलाई मेरो पूर्ण सहयोग रहन्छ । यो सरकारले भ्रष्ट्राचार अन्त्य गर्नुपर्छ, सुशासन दिनुपर्छ, रोजगारी सृजना गर्नुपर्छ । मधेशको छोरो भएकाले मधेशलाई बालेनले उपेक्षा गर्न मिल्दैन ।’

आफू निर्वाचनमा पराजित भए पनि अब फेरि मिडियामा नफर्कने कुरा उनले दोहोर्‍याए । बरु अबको केही समयपछि देश दौडाहामा निस्कने र भ्रष्ट्राचारको विरुद्धमा अभियान चलाउने बताए । आफू पराजित भए पनि रौहतट–४ कै जनतासँग रहेर उनीहरूको दुःखसुखमा सँगै रहने प्रतिबद्धता व्यक्त गरे ।

निर्वाचन प्रचारप्रसारको क्रममा कहिले उखुको लांक्रो बोकेर, कहिले जेरी बनाएर, कहिले साइकल चलाएर त कहिले काठ मिलमा आरा लगाएर चर्चामा थिए । कहिले मतदाताको स्थानीय समस्याको सम्बोधनको लागि तुरुन्त समाधान गरिदिएर त कहिले मतदाताको कथा–व्यथा सुन्दै भावुक भएर रोएर चर्चामा आएका थिए ।

तर, अहिले रौतहट–४ को प्रारम्भिक मतगणनामा धमला निकै पछि परेका छन् । ५ हजार ९२ मत गणना हुँदा उनले १० मत मात्र पाएका छन् । यस क्षेत्रमा रास्वपाका गणेश पौडेलले २ हजार ५ सय मतसहित अग्रस्थानमा छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस