
रौतहट, २२ चैत्र । रौतहटको गढीमाई नगरपालिका–३ गम्हरियामा गेट ढलेर एक बालकको मृत्यु भएको घटनामा आफ्नो ट्र्याक्टरको कुनै संलग्नता नरहेको भन्दै जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता तथा रौतहट क्षेत्र नं. ४ का सांसद प्रत्याशी राजकुमार दासले आफूमाथि लगाइएको आरोप निराधार भएको बताएका छन्।
शनिबार पत्रकार सम्मेलन गर्दै दासले करिब एक महिनाअघि भएको उक्त घटनामा आफ्नो नाम जोडेर गलत प्रचार गरिएको भन्दै गम्भीर आपत्ति जनाए।
फागुन १७ गते पूर्वमन्त्री तथा प्रदेश सांसद शेख अबुल कलाम आजाद उर्फ शेख फूलबाबुको कम्पाउन्डको गेट ढलेर च्यापिँदा स्थानीय सबिया खातुनका करिब १० वर्षीय छोरा मोहम्मद अल्फाजको घटनास्थलमै मृत्यु भएको थियो।
घटनापछि मृतकका परिवारले दासको डिजे बाजा लोड गरिएको ट्र्याक्टरले ब्याक गर्ने क्रममा गेटमा ठक्कर दिँदा गेट ढलेर बालकको मृत्यु भएको आरोप लगाएका थिए।
तर दासले उक्त आरोप अस्वीकार गर्दै आफ्नो ट्र्याक्टरले न गेटमा ठक्कर दिएको न बालकको मृत्युमा कुनै भूमिका रहेको दाबी गरे। “गेट आफैँ ढलेर दुर्घटना भएको हो, मेरो ट्र्याक्टरको कुनै संलग्नता छैन,” उनले भने।
उनका अनुसार घटनाका बेला केही बालबालिका गेटमा झुन्डिएर खेलिरहेका थिए र सोही क्रममा एक्कासी गेट ढलेर बालक च्यापिँदा मृत्यु भएको हो। गेट भन्दा पर कम्पाउन्ड भित्र आफ्नो ट्र्याक्टर पार्क गरिएकै कारण आफूलाई जबरजस्ती फसाउने प्रयास भएको उनको भनाइ छ।
दासले आफू राजनीतिक व्यक्तित्व भएकै कारण विपक्षीको उक्साहटमा पीडित परिवारलाई प्रयोग गरी षड्यन्त्र गरिएको आरोपसमेत लगाए।
साथै, प्रहरीलाई पैसा खुवाएर जाहेरी दर्ता हुन नदिएको भन्ने आरोप पनि पूर्ण रूपमा झुटो र भ्रामक रहेको उनले बताए।
उनका अनुसार घटनाको दिन प्रहरीले तयार पारेको मुचुल्कामा समेत ट्र्याक्टरको ठक्करबाट नभई गेट आफैँ ढलेर बालकको मृत्यु भएको उल्लेख छ।
उता इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी शंकरप्रसाद आचार्यले पनि प्रारम्भिक अनुसन्धानमा ट्र्याक्टरको संलग्नता नदेखिएकोले जाहेरी दर्ता गर्न नमिल्ने भन्दै जाहेरी लिन अस्वीकार गरिएको बताएका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालले पनि प्रारम्भिक अनुसन्धानबाट ट्र्याक्टरले ठक्कर दिएको प्रमाण नभेटिएको जानकारी दिए।
उनका अनुसार बालबालिका गेटमा झुन्डिएर खेलिरहेको अवस्थामा गेट आफैँ ढलेर दुर्घटना हुँदा च्यापिएर बालकको मृत्यु भएको देखिएको छ।
बालबालिका गेटमा झुन्डिएर खेलिरहेको अवस्थामा गेट आफै ढलेर दुर्घटना हुँदा च्यापिएर बालकको मृत्यु भएको र घटनामा ट्याक्टरको कुनै संलग्नता नरहेको एसपी रिजालले बताए ।
