
काठमाडौं, १३ फाल्गुन। भारतीय नागरिक प्रवेश कुमार क्षेत्री (आचार्य) ले झूटो विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोपमा जिल्ला प्रशासन कार्यालय, बारा र जिल्ला प्रहरी कार्यालय, बारामा जाहेरी परेको छ।
बारा जिल्ला महागढीमाई नगरपालिका–८ निवासी प्रमोद प्रसाद चौरसियाले प्रवेशविरुद्ध अनुसन्धान गरी आवश्यक कारबाही गर्न माग गर्दै उजुरी दिएका हुन्।
उजुरीअनुसार भारतको उत्तर प्रदेश राज्य, वाराणसीस्थित भगवानपुर आंशिक निवासी गौरीशंकरका छोरा प्रवेश आचार्यले झूटो विवरण पेश गरी नेपालमा ‘क्षेत्री’ थर उल्लेख गर्दै नागरिकता लिएको आरोप छ। चौरसियाले वाराणसीमा रहेको राशन कार्ड, मतदाता परिचयपत्र तथा शपथपत्रको प्रतिलिपि संलग्न गर्दै प्रवेशले नेपालमा दुई फरक वडाबाट अलग–अलग नम्बरको नागरिकता प्रमाणपत्र लिएको दाबी गरेका छन्।
जाहेरीमा उल्लेख भएअनुसार प्रवेश कुमार आचार्यले साविक बरियारपुर गाविस–२ ठेगाना उल्लेख गरी नागरिकता प्रमाणपत्र नम्बर २८ लिएका छन् भने सोही गाविस–८ ठेगाना उल्लेख गरी ना.प्र.प. नम्बर १२५९/१२५९ को नागरिकता लिएको प्रमाणसमेत पेश गरिएको जनाइएको छ।
त्यसैगरी, उजुरीमा आचार्यकी पत्नी उषा आचार्य र छोरा सुमित आचार्यको भारतीय निर्वाचन आयोगबाट जारी पहिचानपत्र र शपथपत्रको फोटोकपी समेत संलग्न गरिएको बताइएको छ।
सम्बन्धित निकायले उजुरी दर्ता भइसकेको र प्रस्तुत कागजातका आधारमा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइने जनाएको छ।

उहाँ Wartman Kal Dainik डट कम का लागि सम्पादक तथा संवाददाता हुनुहुन्छ |
