
काठमाडौँ, ११ चैत। मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखामा भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका मध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
आज बिहान करिब २ः५० बजे ना ८ ख ८७६० नम्बरको आइचर ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा गाडीमा सवार दुई जना घाइते भएका थिए । घाइतेमध्ये वीरगञ्ज–३२ निवासी २० वर्षीय सन्तोष यादवको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका अर्का ३२ वर्षीय कृष्ण यादवलाई थप उपचारका लागि भरतपुर पठाइएको छ । प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
