
ताप्लेजुङ, १५ चैत। समृद्ध पहाड संस्थामा कार्यरत योजना अधिकृत चन्द्रजङ्ग हमालको लेक लागेर मृत्यु भएको छ ।
जुम्लाको कनकासुन्दरी गाउँपालिकाका ३३ वर्षीय हमालको ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ स्थित लोनाक क्षेत्रमा कामको सिलसिलामा गएका बेला लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी जटाशङ्कर यादवका अनुसार हमाल समृद्ध पहाड संस्थामा योजना अधिकृतका साथै कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजनामा पनि कार्यरत थिए ।
कामका लागि उच्च हिमाली क्षेत्रमा पुगेका बेला शनिबार बिहान लेक लागेर बिरामी परेका हमालको सोही क्षेत्रमा मृत्यु भएको उनले जानकारी दिए ।
हमालको शव परीक्षणसहित आवश्यक कानुनी प्रक्रिया पूरा गर्न एभरेष्ट एयरको हेलिकप्टरमार्फत काठमाडौं लगिएको प्रहरी निरीक्षक यादवले बताए । उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
