
रुपन्देही, ०१ चैत। लुम्बिनी प्रदेशका विभिन्न निर्वाचन क्षेत्रमा निर्वाचनको मुखमै दल बदलेर जित निकाल्नेहरू बढी भेटिएका छन् । निर्वाचनको मुखमै दल परिवर्तन गरेर वा नयाँ दल रोजेर जित हात पारेका धेरै नेताहरू यस पटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा भेटिएका छन् । उनीहरूका निकटस्थहरूले यो दल नयाँ भएकाले यस्तो हुनु स्वाभाविक रहेको तर्क गरेका छन् भने आलोचकहरूले यसलाई ‘स्वार्थको राजनीति’ भनिरहेका छन् ।
अझ रोचक विषय त के छ भने, तीमध्ये अधिकांश नेताहरू कुनै समय नेपाली कांग्रेससँग निकट वा आबद्ध रहेको भेटिएको छ । टिकट नपाउनु, आन्तरिक विवाद वा नयाँ राजनीतिक सम्भावनाको खोजीमा दल परिवर्तन गरेका ती नेताहरूले मतदाताबाट अप्रत्याशित समर्थन पाएका हुन् ।
यस पटकको निर्वाचनले परम्परागत दलभित्रको असन्तुष्टि, नयाँ दलप्रति बढ्दो आकर्षण र स्थानीय राजनीतिक समीकरणमा आएको परिवर्तनलाई स्पष्ट रूपमा देखाएको छ । विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ देखिएको आकर्षणले धेरै पुराना राजनीतिक कार्यकर्तालाई नयाँ बाटो रोज्न प्रेरित गरेको देखिन्छ ।
कपिलवस्तुको क्षेत्र नं. २ मा पनि निर्वाचनको मुखमा भएको दल परिवर्तन निर्णायक बन्यो । मनोनयन दर्ताकै समयमा रास्वपा प्रवेश गरेका विक्रमसिंह थापा अन्ततः प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । उनले कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री सुरेन्द्रराज आचार्यलाई पराजित गरे । थापा त्यसअघि नेपाली कांग्रेसबाट उम्मेदवारका लागि सिफारिस भएका नेता हुन् ।
थापा २०७९ सालको निर्वाचनमा प्रदेश सभा सदस्यमा कांग्रेसबाटै उम्मेदवार थिए, तर झिनो मतान्तरले पराजित भएका थिए । यस पटक प्रतिनिधिसभा टिकटको अपेक्षा गरेका उनले कांग्रेसबाट अवसर नपाएपछि रास्वपा रोजेका हुन् । धेरै रास्वपाका नेता-कार्यकर्ताहरूले उनी तेस्रो आउने आँकलन गरेका थिए ।
सो क्षेत्रमा पहिलेदेखि बलियो मानिएका कांग्रेस नेता सुरेन्द्र आचार्य र लामो समयदेखि पार्टी फेर्दै चुनाव लड्दै आएका बृजेशकुमार गुप्ताबीच नै मुख्य प्रतिस्पर्धाको आकलन थियो, तर देशव्यापी लहरले ती आकलनलाई गलत सावित गरिदियो र थापाको पक्षमा नतिजा ल्याइदियो ।
कपिलवस्तु क्षेत्र नं. २ का क्षेत्रीय सभापति केशव श्रेष्ठले पार्टीका महाधिवेशन प्रतिनिधि रहेका थापाले पार्टी छाडेको विषयमा केही जानकारी नै नभएको बताए । ‘म यही क्षेत्रको जिम्मेवारीमा छु, उहाँले पार्टी छाडेको केही जानकारी पाएको छैन, उहाँ महाधिवेशन प्रतिनिधि हो,’ उनले भने । पार्टीबाट टिकट लिन धाएका थापाले टिकट नपाएपछि दुई दिनअघि मात्रै निकटस्थहरूलाई रास्वपाबाट चुनाव लड्ने सूचना दिएका थिए ।
पाल्पाको क्षेत्र नं. २ मा देखिएको घटनाक्रम झन् रोचक मानिएको छ । रास्वपाबाट उम्मेदवार बनेका डा. माधव थापाले कांग्रेस जिल्ला सभापति हिमालदत्त श्रेष्ठलाई नै पराजित गरे । निर्वाचनअघि थापा कांग्रेसको जिल्ला कार्यसमिति सदस्य थिए । राजनीतिक रूपमा लामो समय सँगै काम गरेका श्रेष्ठ र थापाबीच घनिष्ठ सम्बन्ध थियो । श्रेष्ठकै पहलमा थापा जिल्ला कार्यसमितिमा आएको कांग्रेस कार्यकर्ताहरूको बुझाइ छ ।
तर, मनोनयन दर्ताको मुखमै रास्वपा प्रवेश गरेका थापाले अन्ततः आफ्नै राजनीतिक अगुवालाई पराजित गरेपछि त्यहाँको कांग्रेस नेतृत्व मात्र होइन, कार्यकर्तासमेत आश्चर्यमा परेका छन् । क्षेत्र नं. १ मा कांग्रेसले ३१ वर्ष पुरानो विरासत फर्काउँदा तुलनात्मक रूपमा बलियो मानिएको क्षेत्र नं. २ मा पार्टी सभापति नै फराकिलो मतान्तरले पराजित भएका हुन् ।
कांग्रेस कार्यकर्ताहरूका अनुसार थापा रास्वपा प्रवेश गरेको जानकारी धेरैलाई उम्मेदवार बनेपछि मात्र थाहा भएको थियो । उनी निर्वाचित भइसक्दासमेत कांग्रेसको जिल्ला सदस्य सूचीमा नाम रहेको विषयमा कांग्रेसले अझै कुनै निर्णय गरेको छैन । कांग्रेस जिल्ला सभापति हिमालदत्त श्रेष्ठ माधव थापाले मनोनयनको केही दिन पहिले मात्रै मेसेन्जरमा राजीनामा पठाएको बताउँछन् ।
‘उहाँ जिल्ला सदस्य हुनुहुन्थ्यो, पार्टीबाट आकांक्षा पनि थिएन, पालिकामा भने दाबी थियो । तर एक्कासि कांग्रेस छाडेर रास्वपा उम्मेदवार बन्ने सूचना पाइयो,’ उनले भने, ‘माओवादीबाट कांग्रेसमा ल्याएका हौँ, कुलमानले पार्टी खोल्ने हल्लापछि त्यता नजिक हुनुभयो र पछि त्यहाँ पनि छाडेर रास्वपाबाट उम्मेदवार बन्नुभयो ।’
पश्चिम नवलपरासीका दुवै क्षेत्रमा त्यस्तै भयो । क्षेत्र नं. १ मा नेपाली कांग्रेसले यसअघि नै निर्वाचन जितेका केन्द्रीय सदस्य विनोद चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेपछि कांग्रेसभित्र असन्तुष्टि चुलियो । त्यसपछि कांग्रेसको लुम्बिनी प्रदेशका महामन्त्री रहेका विक्रम खनालले पार्टी त्यागेर रास्वपाबाट उम्मेदवारी दिए । उनी २०७९ मै चौधरीको स्थानमा उम्मेदवार बन्न चाहे पनि पाएनन्, बरु चौधरीलाई असहयोग गरेको मुद्दामा कारबाहीमा परेका थिए (जुन पछि फिर्ता भयो) । त्यसकै बदला लिन उनी चौधरीलाई हराउन उम्मेदवार बने ।
उनी रास्वपामा लागेपछि सो क्षेत्रका धेरै नेता-कार्यकर्ता ताने र अन्ततः निर्वाचित हुँदै संसद्मा पुग्न सफल भए । खनालले चौधरीसँगै सो क्षेत्रमा २०४८ देखि उम्मेदवार बन्दै आएका हृदयेश त्रिपाठीको जमानतसमेत जफत गरिदिए ।
खनाल रास्वपामा लागेपछि पश्चिम नवलपरासी-२ मा पनि उस्तै लहर आयो । कांग्रेसबाट टिकट पाउने सम्भावना कमजोर देखिएपछि पूर्वकांग्रेस नेता नरेन्द्र गुप्ता रास्वपा प्रवेश गरे । गुप्ता यसअघि कांग्रेसबाटै रामग्राम नगरपालिकाको मेयर भएका थिए । यो पटक उनी कांग्रेसबाटै उम्मेदवार बन्न खोजेका थिए, तर पार्टीले भीमबहादुर थापा र देवेन्द्रराज कँडेललाई टिकट दियो । दुवैको उम्मेदवारी दर्ता भए पनि निर्वाचन आयोगले पहिले दर्ता भएको थापाको उम्मेदवारीलाई आधिकारिक मान्यो ।
कांग्रेसभित्रको विवाद र रास्वपाप्रति देखिएको जनलहरको संयोजनले अन्ततः गुप्तालाई जिततर्फ डोर्यायो । स्थानीय राजनीतिमा स्थापित छवि भएका कारण उनले नयाँ दलबाट पनि मतदाताको विश्वास जित्न सफल भए । कांग्रेसभित्रको विवाद निर्वाचनमा अन्तर्घातको विषय बनेर बाहिर आयो । फागुन २१ गते जिल्ला पार्टीले २२ जना नेताहरूलाई कारबाहीको सिफारिस गर्यो, जसले कांग्रेस छाडेर रास्वपामा लागेका विक्रम र नरेन्द्रलाई सहयोग गरेका थिए ।
बाँके-३ मा निर्वाचित खगेन्द्र सुनार पनि पहिले कांग्रेससँग निकट रहेका नेता मानिन्छन् । रास्वपाबाट उम्मेदवार बनेका उनले कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनलाई पराजित गरे । कांग्रेस लुम्बिनीका कोषाध्यक्ष प्रकाश रानाका अनुसार उनी १४औँ महाधिवेशनका प्रतिनिधि हुन् । दैलेखमा प्रेस युनियनमा रहेका उनी अन्तिममा कांग्रेस छाडेर रास्वपाबाट सांसद बने । लामो समय मिडियामा काम गरेका उनी अधिकारकर्मीका रूपमा परिचित थिए ।
बर्दिया-२ मा निर्वाचित श्रीधर पोखरेल पनि लामो समय कांग्रेस राजनीतिमा सक्रिय व्यक्ति हुन् । विभिन्न सामाजिक संघ-संस्थामा नेतृत्व गरेका पोखरेल केही समयअघि मात्र रास्वपा प्रवेश गरेका थिए । बर्दियाका कांग्रेस नेता कमल रेग्मीका अनुसार पार्टीको १३औँ र १४औँ महाधिवेशनमा पोखरेल क्षेत्रीय प्रतिनिधिका रूपमा निर्वाचित भएका थिए । ठाकुरद्वारामा होटल व्यवसाय गर्ने उनी २०४७ देखि नै नेविसंघको राजनीतिमा जोडिएका पात्र हुन् । मनोनयनको दिन मात्रै उनको उम्मेदवारीको टुङ्गो लागेको थियो । उनैले यहाँ जितेर सदन प्रवेश गरे ।
बाँके-१ मा विजयी सुरेशकुमार चौधरी पनि कांग्रेससँग सम्बन्ध गाँसेका पात्र हुन् । कांग्रेसबाट राजनीति गरेका उनी नागरिक उन्मुक्ति पार्टी हुँदै रास्वपा प्रवेश गरेर जित हात पार्न सफल भए ।
दाङ-१ मा पनि लामो समय कांग्रेसको राजनीति गरेका नेता देवराज पाठक निर्वाचित भएका छन् । यद्यपि उनी रास्वपाको सुरुवातदेखि नै लागेका सीमित नेताहरूमा पर्दछन् । उनी सो पार्टीको प्रदेश अध्यक्ष हुन् । शिक्षण पेसाका साथै कांग्रेसको राजनीतिमा सक्रिय रहेका पाठक शिक्षक संघको जिल्ला उपसभापति समेत भइसकेका थिए । २०७९ सालतिर उनले शिक्षक संघ र अध्यापन पेसा दुवै त्यागेर रास्वपा प्रवेश गरेका थिए । यस पटक उनले कांग्रेस सहमहामन्त्री योगेन्द्र चौधरी, पूर्वसहरी विकासमन्त्री मेटमणि चौधरी र लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीजस्ता प्रभावशाली नेताहरूलाई पराजित गर्दै जित हात पारे ।
रुपन्देही क्षेत्र नं. ४ मा निर्वाचित कन्हैया बनिया २०७९ मा लोसपाबाट लुम्बिनी प्रदेश सभामा निर्वाचित भएका थिए । मनोनयनको केही दिनअघि मात्रै उनले प्रदेश सभाबाट राजीनामा दिएर प्रतिनिधि सभाको उम्मेदवारी टुङ्गो लगाएका हुन् । बनियाले लामो समयदेखि सो क्षेत्रमा उम्मेदवार बन्दै आएका आफ्ना राजनीतिक गुरु सर्वेन्द्रनाथ शुक्लाको जमानत नै जफत गराए भने एमालेका प्रमोद यादवलाई पराजित गरे ।
बर्दिया-१ मा विजयी ठाकुरसिंह थारूको राजनीतिक यात्रा पनि उतारचढावपूर्ण छ । लामो समय पत्रकारिता गरेका थारू सुरुमा एमाले निकट थिए । पछि पत्रकारिता छाडेर २०७९ सालमा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेका थिए । त्यस बेला उनी कांग्रेसका सञ्जय गौतमसँग पराजित भएका थिए । यस पटक भने उनले रास्वपा रोजे र गौतमलाई नै पराजित गर्दै जित हात पारे ।
कपिलवस्तु-३ मा उम्मेदवार बनेका प्रकाश रजौरिया राप्रपा छाडेर उही दिन रास्वपामा पुगेर टिकट लिएका हुन् । एमालेबाट टिकटको दाबी गरिरहेका उनी, त्यहाँ कांग्रेस छाडेका वीरेन्द्र कनौडियाले टिकट पाएपछि रास्वपा पुगेका थिए, यद्यपि जित निकाल्न भने सकेनन् ।
त्यसो त एमालेबाट बाँके-२ मा निर्वाचन जितेका इस्तियाक राई मनोनयनको दुई दिनअघि मात्रै एमाले प्रवेश गरेका हुन् । प्रदेशभरबाट उनले मात्रै एमालेको ‘बीउ’ जोगाइदिए । रुपन्देही-४ मा प्रमोद यादव र कपिलवस्तु-३ मा वीरेन्द्र कनौडिया कांग्रेस छाडेर एमालेबाट उम्मेदवार बनेका थिए, तर जित निकाल्न सकेनन् ।
परम्परागत दलभित्रको असन्तुष्टि र टिकट वितरणमा देखिएको विवादका कारण धेरै नेताहरू वैकल्पिक राजनीतिक शक्तितर्फ आकर्षित भएका हुन् भन्ने तर्क पनि छ । तर निर्वाचनकै मुखमा जुनसुकै पार्टीमा गएर उम्मेदवार बन्ने विषय असल राजनीतिक संस्कार नभएको विश्लेषक ऋषि आजाद बताउँछन् ।
उम्मेदवारहरू यसरी फेरिँदा त्यससँगै मतदाताको मनोविज्ञान पनि परिवर्तन हुँदै गएको देखिन्छ । पहिले दलभन्दा व्यक्ति कम महत्त्वपूर्ण मानिन्थ्यो । तर अहिले मतदाताले उम्मेदवारको व्यक्तिगत छवि, स्थानीय सम्बन्ध र विकल्पको खोजीलाई बढी महत्त्व दिन थालेको विश्लेषकहरू बताउँछन् । राजनीतिशास्त्रका विद्यार्थी विपीन केसीका अनुसार एमालेको संगठन नै नभएको रुपन्देही क्षेत्र नं. ४ मा कांग्रेसबाट एमालेमा गएर उम्मेदवार बनेका प्रमोद यादवले १५ हजार मत समानुपातिकमा खसाए, जहाँ यसअघि एमालेको १ हजारको अनुपातमा मत आउने गर्दथ्यो । यो संगठन बलियो भएर होइन, व्यक्तिका कारण भएको उनको बुझाइ छ ।
विशेष गरी रास्वपाले नयाँ राजनीतिक विकल्पका रूपमा आफूलाई प्रस्तुत गर्न खोजेको छ । त्यसको प्रभाव स्वरूप पुराना दलबाट असन्तुष्ट नेता तथा कार्यकर्ताहरूलाई समेट्दै उसले आफ्नो आधार विस्तार गरेको देखिन्छ । यद्यपि यसले अर्को प्रश्न पनि उठाएको छ । निर्वाचनको मुखमै दल परिवर्तन गर्ने प्रवृत्तिले नेपाली राजनीतिमा वैचारिक प्रतिबद्धता कत्तिको बलियो छ भन्ने संशय पैदा गरेको छ । विचारभन्दा अवसरवाद हाबी हुँदै गएको आलोचना पनि सुनिन थालेको छ ।
‘मतदाताले यस पटक फरक निर्णय दिएका छन् । परम्परागत दलका उम्मेदवारभन्दा दल परिवर्तन गरेर आएका नेताहरूलाई विश्वास गरेका छन् । पुराना दलभित्रको असन्तुष्टिले नयाँ शक्तिलाई अवसर दिएको छ । तर नयाँ दलबाट छानिएका यी सांसदहरू भोलि त्यो पार्टीमा अडिन्छन् वा पुनः अवसरको खोजीमा दौडिन्छन् भन्ने प्रश्न खडा भएको छ,’ विपीन केसी भन्छन् ।
विश्लेषक पदम कार्की निर्वाचनको मुखैमा दल बदल्नुलाई सिद्धान्त र निष्ठा विपरीतको ‘अवसरवादको पराकाष्ठा’ मान्छन् । ‘मत परिवर्तनको सुनामीलाई बुझेकाहरूले पद प्राप्तिको मौका यही हो भनेर दल बदल्नु राजनीतिक आदर्श र मूल्य-मान्यता विपरीतको कदम हो,’ उनले भने ।
तर, रास्वपाका समर्थक भने नयाँ पार्टी भएकाले अन्य पार्टीबाट आएकाहरूलाई समेट्नु स्वाभाविक भएको र अहिल्यै आलोचना गर्न हतार हुने दाबी गर्छन् ।
