न्याय नपाएको पीडा,डिएसपी शंकर प्रसाद आचार्यमाथि आर्थिक–राजनीतिक दबाबमा मुद्दा दर्ता नगरेको आरोप

न्याय नपाएको पीडा,डिएसपी शंकर प्रसाद आचार्यमाथि आर्थिक–राजनीतिक दबाबमा मुद्दा दर्ता नगरेको आरोप

रौतहट, २१ चैत। रौतहटमा ट्रेक्टरको ठक्करबाट एक नाबालकको ज्यान गएको घटनामा करिब एक महिना बित्न लाग्दासमेत मुद्दा दर्ता नभएको भन्दै पीडित परिवारले गम्भीर आपत्ति जनाएको छ। पीडित परिवारले प्रहरी प्रशासनकै कारण आफूहरूले न्याय पाउन नसकेको आरोप लगाउँदै पत्रकार सम्मेलनमार्फत आफ्नो पीडा सार्वजनिक गरेका छन्।

पीडितका अनुसार २०८२ साल फाल्गुण १७ गते आइतबार प्रतिनिधि सभा निर्वाचनको प्रचारप्रसारका क्रममा ना.६ त ७५८६ नम्बरको ट्रेक्टरमा डिजे बाजा राखी अत्यधिक ठूलो आवाजमा गीत बजाउँदै हिँडिरहेको अवस्थामा उक्त ट्रेक्टरले एक घरको कम्पाउण्ड वालमा ठक्कर दिएको थियो। सोही क्रममा गेट नजिक खेलिरहेका मो. अलफाज नामका नाबालक गेटमा च्यापिन पुग्दा उनको घटनास्थलमै मृत्यु भएको परिवारले जनाएको छ।

घटनाबारे खबर पाएलगत्तै पीडित परिवार घटनास्थलमा पुगेर ट्रेक्टर नियन्त्रणमा लिएको बताइएको छ। सो क्रममा प्रतिनिधि सभा उम्मेदवार राजकुमार दासले  “पहिले बच्चालाई उपचारका लागि लैजानुहोस्” भन्दै आफ्नै गाडीमा बालक र परिवारलाई गरुडा स्थित एक अस्पतालमा पुर्‍याएका थिए। तर, “बैंकबाट पैसा ल्याएर आउँछु” भन्दै गएका दास त्यसपछि हालसम्म सम्पर्कमा नआएको पीडित परिवारको आरोप छ।

मृतककी आमा सबिहा खातुनका अनुसार आफूहरूले इलाका प्रहरी कार्यालय गरुडामा मुद्दा दर्ताका लागि उजुरी दिए पनि अहिलेसम्म मुद्दा दर्ता गरिएको छैन। उनले प्रहरीका डिएसपी शंकर प्रसाद आचार्यले उल्टै आफूहरूलाई पटक–पटक बोलाएर डराउने र धम्क्याउने गरेको आरोप लगाएकी छन्। खातुनले “घटनाको प्रकृति हेर्दा तत्काल मुद्दा दर्ता हुनुपर्ने भए पनि त्यसो नगरिएकोले हामी झन् पीडित बनेका छौं” भनी गुनासो गरिन्।

उनले थप आरोप लगाउँदै भनिन् कि डिएसपी आचार्यले कथित रूपमा दोषीसँग मिलेमतो गर्दै अवैध साँठगाँठका कारण मुद्दा दर्ता नगरेको हो।

“हामी गरिब भएकै कारण हाम्रो आवाज कसैले सुन्दैन, प्रहरी प्रशासन धनी र शक्तिशालीको पक्षमा मात्रै काम गरिरहेको छ,” उनले भावुक हुँदै पत्रकार सम्मेलनमा बताइन्।

इलाका प्रहरी कार्यालयमा दर्ता गरिएको उजुरी अनुसार घटना फाल्गुण २१ गते सम्पन्न हुने निर्वाचनको पूर्वसन्ध्यामा भएको थियो। रौतहट निर्वाचन क्षेत्र नं. ४ बाट जनता समाजवादी पार्टीका उम्मेदवार राजकुमार दाससँग सम्बन्धित ट्रेक्टर चालकले लापरवाहीपूर्वक चलाउँदा उक्त दुर्घटना भएको आरोप लगाइएको छ। ट्रेक्टरले गम्हरिया टोलस्थित अब्दुल कलाम आजाद (फूलबाबु) को घरको गेटमा ठक्कर दिँदा गेटमा च्यापिएर बालकको मृत्यु भएको जनाइएको छ।

पीडित परिवारले हालको सरकार तथा गृहमन्त्रीसम्म आफ्नो आवाज पुर्‍याई निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेका छन्। साथै, घटनामा संलग्न प्रहरी अधिकारीमाथि समेत छानबिन गरी कारबाही गर्न उनीहरूले जोड दिएका छन्।

स्थानीयस्तरमा पनि उक्त घटनाले व्यापक चर्चा पाएको छ भने नागरिक समाजले समेत निष्पक्ष अनुसन्धान र पीडितलाई न्याय दिलाउन सम्बन्धित निकायलाई दबाब दिन थालेका छन्।

यस बिषयमा सांसद प्रत्याशी राजकुमार दास तत्मासँग सोध्दा गम्हरिया क्षेत्रमा घटेको बालकको मृत्यु सम्बन्धी घटनामा आफ्नो संलग्नता रहेको भन्ने आरोपबारे सांसद प्रत्याशी राजकुमार दास तत्माले स्पष्टिकरण दिएका छन्। उनले फाल्गुन १७ गते गम्हरिया स्थित मा. फुलबाबू गेटमा भएको उक्त दुर्भाग्यपूर्ण घटनालाई लिएर आफूविरुद्ध फैलाइएका आरोपहरू पूर्ण रूपमा निराधार र भ्रामक भएको दाबी गरेका हुन्।

तत्माका अनुसार घटना भएको समयमा बालबालिकाहरू आफैं गेटमा झुण्डिएर खेलिरहेको अवस्थामा अचानक गेट लड्दा उक्त दुखद घटना भएको हो।

“यस घटनासँग मेरो जुलुस, र्‍याली वा प्रयोग गरिएको कुनै पनि सवारी साधनको कुनै सम्बन्ध छैन,” उनले प्रष्ट पारे। उनले केही राजनीतिक प्रतिद्वन्द्वीहरूले नियोजित रूपमा आफ्नो चरित्र हत्या गर्न मनगढन्त आरोप लगाएको भन्दै त्यसप्रति गम्भीर आपत्ति जनाएका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस