
रौतहट, २५ फाल्गुन । रौतहट संसदीय निर्वाचन क्षेत्र नम्बर ३ र ४ मा निर्वाचनको परिणाम आएसँगै आम जनता पार्टी र नेकपा एमालेका जिम्मेवार नेताहरूले राजीनामाको घोषणा गरेका छन् । आजपाका केन्द्रीय कार्यकारी सदस्य तथा उप–महासचिव सुधीर यादव र नेकपा एमालेका मधेस प्रदेश कमिटी सदस्य शेख एकरामुलले पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएका हुन्।
उनीहरूले आइतबार बेलुकी छुट्टाछुट्टै वक्तव्य जारी गर्दै पार्टीको सम्पूर्ण जिम्मेवारी बाट राजीनामा दिएको जानकारी दिएका छन् । आजपाका यादवले झण्डै २५ वर्षदेखिको आफ्नो राजनीतिक यात्रामा धेरै अनुभव बटुलेको उल्लेख गर्दै हालै सम्पन्न निर्वाचनका क्रममा पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्। उनले पार्टी अध्यक्ष प्रभु साहको एकल निर्णय प्रक्रिया, कार्यशैली तथा रौतहट क्षेत्र नम्बर ४ का उम्मेदवार ऋषि धमलालाई आवश्यक सहयोग र समय नदिएको विषयप्रति असहमति जनाएका हुन्।
यादवका अनुसार पार्टीभित्रै आफ्ना मान्छे प्रयोग गरी उम्मेदवारलाई हराउन खोजिएको जस्ता गतिविधि भएको आरोप समेत लगाएका छन्। यिनै कारणले आफूले पार्टीका सम्पूर्ण जिम्मेवारी तथा साधारण सदस्यसमेतबाट राजीनामा दिएको उनले जानकारी दिएका छन्।
यादवले २५ वर्षदेखिको आफ्नो राजनीतिक सङ्घर्षलाई स्मरण गर्दै आजैको मितिबाट लागू हुने गरी पार्टीबाट अलग हुने निर्णय गरेको बताएका छन्।यादव हाल क्षेत्र ४ अन्तर्गत चन्द्रपुरमा स्थायी रूपमा बसोबास गर्दै आएका छन् ।
त्यस्तै क्षेत्र ३ अन्तर्गत गुजारा नगरपालिकाका एमाले पार्टीबाट मेयर प्रत्याशी समेत रहेका एकरामुलले भने पार्टीको साधारण सदस्य समेत नरहने घोषणा गरेका छन् ।तर कारण भने खुलाएका छैनन् । गत २१ गतेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा विपरीत परिणाम आएपछि एमाले र आजपाका केही नेता कार्यकर्ता रुष्ट भएको देखिएको छ ।
