परीक्षा विवादपछि लमजुङमा विद्यार्थीको पुनः परीक्षा माग

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र २७, शुक्रबार (१ दिन अघि)
  • ९५ पटक पढिएको
परीक्षा विवादपछि लमजुङमा विद्यार्थीको पुनः परीक्षा माग

लमजुङ, २७ चैत। लमजुङ कृषि क्याम्पसमा अध्ययनरत चौथो र छैटौँ सेमेस्टरका विद्यार्थीले नियमित परीक्षाको नयाँ कार्यतालिका तत्काल सार्वजनिक गर्न माग गरेका छन्। जेनजी आन्दोलन र पछिल्लो निर्वाचनका कारण पढाइ प्रभावित भएर कोर्स नै पूरा नभई लिइएको परीक्षाले विद्यार्थीको भविष्य अन्योलमा पारेको भन्दै उनीहरूले पुनः परीक्षा सञ्चालन गर्न डिन कार्यालयसँग आग्रह गरेका हुन्।

शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै विद्यार्थीले क्याम्पस प्रशासनले आफ्नो मागको सुनुवाइ नगरेपछि न्यायका लागि डिन कार्यालय गुहार्न बाध्य भएको बताएका छन्। क्याम्पसका स्ववियू कार्यवाहक सभापति आशिष पौडेलले कोर्स पूरा नभई लिइएको परीक्षालाई कुनै पनि हालतमा मान्यता दिन नसकिने स्पष्ट पारे। समयमै कोर्स नसकिएको यथार्थलाई स्वीकार गर्दै नियमसम्मत ढङ्गले नियमित परीक्षाको नयाँ तालिका सार्वजनिक गर्नुपर्ने उनको जिकिर छ।

हाल सो दुई सेमेस्टरमा करिब २ सय जना विद्यार्थी अध्ययनरत छन्। ती विद्यार्थीको भविष्यमाथि क्याम्पस प्रशासनले खेलबाड गरेको आरोप लगाउँदै पौडेलले विद्यार्थीलाई थप अन्योलमा नराख्न चेतावनी दिए। विद्यार्थीको भावना अनुसार पुनः परीक्षा नतोकिए कडा आन्दोलनमा उत्रिने उनीहरूको तयारी छ। चुनावअघि फागुन ९ र १० गते तोकिएको परीक्षाको विषयलाई लिएर अहिले विद्यार्थी र प्रशासनबिच विवाद चर्किएको हो।

यता, डिन कार्यालयले भने नियमित परीक्षा पुनः गर्न नसकिने बरु मौका परीक्षाको मात्रै व्यवस्था गर्न सकिने अडान राख्दै आएको छ। तर विद्यार्थीले मौका परीक्षाले मात्रै आफ्नो समस्या समाधान नहुने भन्दै नियमित प्रक्रियाबाटै अघि बढ्नुपर्ने माग गरिरहेका छन्।

कोर्स नै नपढाई परीक्षा लिनु शैक्षिक अपराध भएको तर्क गर्दै उनीहरूले सरकार र सम्बद्ध निकायको गम्भीर ध्यानाकर्षण गराएका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस