
वीरगञ्ज, २२ चैत्र । जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लाभित्रका सबै सरकारी कार्यालयहरूलाई बिचौलिया मुक्त सेवा सुनिश्चित गर्न कडा निर्देशन जारी गरेको छ। आइतबार सार्वजनिक गरिएको विज्ञप्तिमार्फत प्रशासनले सरकारी सेवा छिटो, सरल, सहज र पारदर्शी रूपमा उपलब्ध गराउन सबै कार्यालयलाई औपचारिक रूपमा आग्रह गरेको हो।
प्रशासकीय अधिकृत रेखा कुमारीका अनुसार प्रशासन कार्यालयबाट प्रदान गरिँदै आएका सेवाहरू हाल नियमित र सहज ढंगले सञ्चालन भइरहेका छन्। उनले कार्यालय परिसरभित्र मात्र होइन, वरपर समेत बिचौलिया गतिविधि देखिए तत्काल कडा कारबाही हुने चेतावनी दिएकी छन्।
कार्यालय प्रमुख कुमारीले बिचौलियाहरूले सेवाग्राहीलाई सहयोग र सहजीकरणको नाममा गैरकानुनी रूपमा रकम असुल्ने कार्य रोक्न प्रशासन पूर्ण प्रतिबद्ध रहेको बताइन्।
विज्ञप्तिमा उल्लेख छः
“यस कार्यालय तथा जिल्लास्थित कुनै पनि कार्यालय वरिपरि सेवाग्राहीलाई सहयोग वा सहजीकरणको नाममा गैरकानुनी रूपमा रकम असुल्ने जो कोहीमाथि कानुनबमोजिम कडा कारबाही गरिनेछ।”
प्रशासनको यो कदमले जिल्लामा सरकारी सेवामा देखिएको बिचौलियाको चलन अन्त्य हुने र सेवाग्राहीले प्रत्यक्ष र सरल सेवा पाउने अपेक्षा गरिएको छ।
