बारा–३ : रास्वपाका ई. अरविन्द साह ३० हजार मतले विजयी

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ फागुन २२, शनिबार (१ हप्ता अघि)
  • ११४ पटक पढिएको
बारा–३ : रास्वपाका ई. अरविन्द साह ३० हजार मतले विजयी

वीरगञ्ज, २३ फाल्गुन । बारा निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार इन्जिनियर अरविन्द साह निर्वाचित भएका छन् । उद्यमी तथा ग्रामीण विकास क्षेत्रमा सक्रिय समाजसेवीका रूपमा परिचित साहले आफ्नो पहिलो संसदीय निर्वाचनमै उत्कृष्ट प्रदर्शन गर्दै फराकिलो मतान्तरले विजय हासिल गरेका हुन् ।

साहले कुल ४० हजार ६ सय ९७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका फरमुल्लाह मन्सुरले १० हजार ५२ मत मात्रै ल्याएका छन् । दुवैबीचको मतान्तर ३० हजार ६ सय ४५ मतको रहेको छ ।

मन्सुर पूर्व मन्त्री तथा नेपाली काँग्रेसका सह-महामन्त्री हुन् । उनी गगन थापाको नेतृत्वमा सम्पन्न काँग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सह-महामन्त्रीमा निर्वाचित भएका थिए ।

तेस्रो स्थानमा जनता समाजवादी पार्टी (जसपा) नेपालका पूर्व सांसद रामबाबु यादव रहेका छन् । उनले ६ हजार ८ सय ८४ मत प्राप्त गरेका छन् ।

यसैगरी, पूर्व मन्त्री तथा यसअघि सोही क्षेत्रबाट निर्वाचित सांसद ज्वाला कुमारी साह (नेकपा एमाले) ले ५ हजार २ सय ७१ मत ल्याएकी छन् ल्याइन् । एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिने साहलाई पार्टीको जिल्ला कमिटीको निर्णय विपरीत टिकट दिइएको थियो ।

जनमत पार्टीका प्रमोद प्रसाद गुप्ता भने ३ हजार ८ सय १९ मतमा सीमित रहेका छन् । पटक-पटक दल परिवर्तन गरेका गुप्ताले अन्तिम समयमा जनमत पार्टीबाट चुनाव लडेका थिए ।

ई. अरविन्द साह नेपालका सफल डिजिटल भुक्तानी प्लेटफर्म ‘खल्ती’ डिजिटल वालेट, स्प्यारो एसएमएस लगायतका आइटी कम्पनीहरू सञ्चालन गर्ने जानकी टेक्नोलोजीका सह-संस्थापक हुन् । उनी ग्रामीण विकास र प्रविधिमा आधारित उद्यमशीलताका क्षेत्रमा परिचित छन् । पहिलो प्रयासमै संसद् प्रवेश गरेका साहको विजयले क्षेत्रमा नयाँ पुस्ताको नेतृत्व र परिवर्तनको सन्देश दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस