
रमेश कुमार यादब
चैत २६ गते ।
बृन्दावन नगरपालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले पालिकाभित्र सेवा प्रवाहलाई प्रभावकारी बनाउन विभिन्न शाखा कार्यालयहरूको छड्के अनुगमन गरेका छन् । बिहीबार नगर प्रमुख कुर्मीको नेतृत्वमा खटिएको टोलीले नगरपालिका मातहतका कार्यालयहरूमा पुगेर कर्मचारीको उपस्थिती, कामकाजको अवस्था तथा सेवाग्राहीप्रतिको व्यवहारबारे स्थलगत निरीक्षण गरेको हो ।नेपाल सरकारको मन्त्रीपरिषद् बैठकले हालै शैक्षिक संस्थाबाहेक अन्य सबै सरकारी कार्यालयहरूको समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गर्ने निर्णय गरेपछि सोही अनुसार पालिकाले पनि कर्मचारीहरूलाई नियमित समयमै कार्यालयमा उपस्थित भएर काम गर्न निर्देशन दिएको नगर प्रमुख कुर्मीले जानकारी दिए।

उनले भने, “हामीले समयमै उपस्थित भई जिम्मेवारी पूरा गर्न सबै कर्मचारीलाई निर्देशन दिएका छौं, र यसको नियमित अनुगमन पनि गरिरहेका छौं।” अनुगमनका क्रममा स्वास्थ्य शाखा, सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा, प्राविधिक शाखा, कृषि तथा पशु विकास शाखा, जिन्सी शाखा, प्रशासन शाखा, लेखा शाखा तथा शिक्षा शाखा लगायतका कार्यालयहरूको निरीक्षण गरिएको थियो। सो क्रममा शाखा प्रमुखहरूलाई समयपालन, जिम्मेवारीप्रति उत्तरदायित्व र सेवाग्राहीलाई छिटो, छरितो तथा झन्झटमुक्त सेवा दिन स्पष्ट निर्देशन दिइएको नगर प्रमुख कुर्मीले बताए।नगर प्रमुख कुर्मीले सेवाग्राहीसँग प्रत्यक्ष संवाद गर्दै कुनै कर्मचारीबाट असन्तुष्टि भएमा वा काममा ढिलासुस्ती भएमा सिधै आफूसँग सम्पर्क गर्न आग्रह समेत गरेका छन् । “जनताको सेवा नै हाम्रो पहिलो कर्तव्य हो, कसैले पनि सेवा लिन झन्झट बेहोर्नु नपरोस्,” उनले भने।
त्यसैगरी, कर्मचारीहरूलाई आवश्यक परेमा सम्बन्धित निकायबाट औपचारिक रूपमा बिदा स्वीकृत गराएर मात्र कार्यालयबाट बाहिरिनुपर्ने निर्देशन दिइएको छ। बिना जानकारी अनुपस्थित भएमा नियमअनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ। आकस्मिक अवस्था वा दुर्घटनाका कारण बाहिर जानुपर्ने भए प्रमुख प्रशासकीय अधिकृतलाई जानकारी गराएर मात्र जानुपर्ने व्यवस्था गरिएको छ।नगर प्रमुख कुर्मीले कर्मचारीहरूलाई सेवाग्राहीसँग मर्यादित र सम्मानजनक व्यवहार गर्न पनि विशेष जोड दिएका छन्।

“सेवाग्राहीसँग नम्रता र सम्मानपूर्वक व्यवहार गर्नु कर्मचारीको कर्तव्य हो,” उनले भने। यसअघि नै प्रमुख प्रशासकीय अधिकृत श्याम किशोर प्रसादले चैत १७ गते लिखित निर्देशन जारी गर्दै नगरपालिका, वडा कार्यालय तथा स्वास्थ्य चौकीमा कार्यरत सबै कर्मचारीलाई समयमै उपस्थित भई नियम पालना गर्न निर्देशन दिइसकेको जनाइएको छ । नगरपालिकाले सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जनमुखी बनाउन कर्मचारी अनुशासनलाई प्राथमिकतामा राख्दै अनुगमन र कडाइलाई निरन्तरता दिने जनाएको छ ।

कार्यक्रममा बृन्दावन नगरपालिकाको वार्ड नं.६ का वडाअध्यक्ष मंझर मंसुर, वडा नं.८ का वडाअध्यक्ष जग्रनाथ प्रसाद भेडिहर, वडा नं.८ का वडाअध्यक्ष रबिन्द्र प्रसाद साह, कार्यपालिका सदस्य राजेश पासवान(निर्माणी), रामकल्याण यादब, प्रेमलाल राउत, जेनजी युवा समुहका अध्यक्ष ईन्द्रजित यादब लगायत संचारकर्मिहरुको सहभागिता रहेको थियो ।
