
रौतहट, ०५ चैत। चिसो मौसम सकिएसँगै गर्मीको शुरुवात भएसँगै बृन्दावनमा लामखुट्टेको प्रकोप फेरि बढ्न थालेको छ। लामखुट्टे बढ्दै गएसँगै डेंगु, मलेरिया जस्ता प्राणघातक रोग फैलिने जोखिम पनि उच्च भएको भन्दै बृन्दावन नगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि विषादी छर्ने अभियान सुरु गर्न तयारी तीव्र बनाएको छ।
नगर प्रमुख बिनोद प्रसाद कुर्मीले चन्द्रपुर राष्ट्रिय दैनिकका सह–सम्पादकसँगको कुराकानीमा जानकारी दिँदै, “चैत १३ गतेदेखि चरणबद्ध रुपमा नगरपालिका भित्रका ९ वटा वडामा लामखुट्टे नियन्त्रणका लागि विषादी छर्ने अभियान सुरु गरिनेछ। अभियानमा हरेक वडामा दैनिक तालिका बनाएर बिहान र बेलुका ‘एयर स्प्रे’ र पम्प स्प्रे गरिनेछ,” बताए।
उनले थपे, “विशेष तालिका अनुसार लामखुट्टेको लार्भा मार्ने कार्य हुनेछ। यसले केवल बढ्दो लामखुट्टेको संख्या घटाउने मात्र होइन, नयाँ लार्भा हुर्कन नदिने उद्देश्य पनि राखेको छ।”
नगर प्रमुख कुर्मीका अनुसार, विषादी छर्ने काम केही ढिला भएको कारण भने मेशिन बिग्रिएको हुनु हो। “अब सबै उपकरण र तयारी पूरा भइसकेको छ, आगामी एक हप्ताभित्रै स्प्रे कार्य सुरु हुनेछ,” उनले बताए।
नगरपालिकाले अभियानलाई प्रभावकारी बनाउन प्रत्येक वडामा तालिका बनाएर आवश्यक जनशक्ति र उपकरणसहित लामखुट्टे नियन्त्रणमा तीव्रता दिने जनाएको छ। जाडो मौसममा लामखुट्टेको संख्या कम भए तापनि गर्मी सुरु हुनासाथ प्रकोप बढ्ने भएकाले नगरपालिकाले चाँडोभन्दा चाँडो अभियान सुरु गर्ने प्रतिबद्धता जनाएको छ।
नगर प्रमुख कुर्मीले नागरिकहरुलाई सचेत गराउँदै भने, “नगरको प्रत्येक नागरिकको स्वास्थ्यको जिम्मेवारी मेरो हो। स्वास्थ्य जस्ता महत्वपूर्ण कार्यमा कुनै लापरवाही नगरी अभियानमा पूर्ण गम्भीरताका साथ लाग्नु मेरो कर्तव्य हो।”
उनले घर वरिपरि सरसफाइ गर्न, फोहोर र पानी जम्ने स्थानहरू हटाउन नागरिकहरुलाई आग्रह गरे। यस अभियानमार्फत नगरपालिकाले डेंगु र मलेरिया जस्ता रोग फैलिन नदिई स्वास्थ्य जोखिम न्यून पार्ने लक्ष्य राखेको छ।
विशेषज्ञहरुका अनुसार गर्मीको समयमा लामखुट्टे बढ्नु सामान्य भए तापनि नगरस्तरीय नियमित निगरानी, घर वरिपरि सरसफाइ, पानी जम्न नदिने, र विषादी छर्ने अभियानले रोग नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्न सक्छ।
