
विराटनगर, २२ फाल्गुन। प्रतिनिधिसभा निर्वाचनमा मोरङका ५ वटा क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छन् । मोरङका ६ वटै क्षेत्रमा मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार क्षेत्र नम्बर ३ बाहेकका क्षेत्रमा रास्वपा उम्मेदवार अगाडि छन् । कांग्रेस एमाले, नेकपा र जसपा नेपालका उम्मेदवार पछिपछि छन् ।
मोरङ क्षेत्र नम्बर ६ मा रास्वपा उम्मेदवार रूविना आचार्यले अग्रता लिएकी छन् । ५७३४ मत गणना हुँदा ३ हजार ४२३ सहित आचार्यले अग्रता बनाउँदा नेपाली कांग्रेसका प्रभावशाली नेता डाक्टर शेखर कोइराला ७२८ मतसहित पछ्याइरहेका छन् । नेकपा एमाले उम्मेदवार विनोद ढकाल ६२७ मतसहित पछि छन् ।
क्षेत्र नम्बर ५ मा रास्वपा उम्मेदवार आशा झाले अग्रता बनाएकी छन् । उनले ३ हजार ९७९ मत पाएकी छन् । जसपा नेपालका उम्मेदवार राजकुमार यादवले १ हजार ३६६ मतसहित दोस्रो स्थानमा पछ्याइरहेका छन् । नेकपा उम्मेदवार शिवकुमार मण्डलले १ हजार २८६ मतसहित तेस्रो स्थानमा छन् ।
क्षेत्र नम्बर ४ मा रास्वपा उम्मेदवार सन्तोष राजवंशीले अग्रता बनाएका छन् । राजवंशी ११ हजार ५६४ मतसहित अग्रता बनाउँदा दोस्रो स्थानमा रहेका कांग्रेसका गुरुराज घिमिरेले २ हजार ६४८ मतसहित पछ्याइरहेका छन् ।
