राष्ट्रिय स्वतन्त्र पार्टीको अभिमुखीकरणमा बालेन र अमरेश अनुपस्थित, गुटबन्दीको चर्चा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र ५, बिहिबार (५ दिन अघि)
  • ११२ पटक पढिएको
राष्ट्रिय स्वतन्त्र पार्टीको अभिमुखीकरणमा बालेन र अमरेश अनुपस्थित, गुटबन्दीको चर्चा

काठमाडौं, ०५ चैत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरेको दुई दिने अभिमुखीकरण कार्यक्रममा वरिष्ठ नेता बालेन्द्र साह (बालेन) अनुपस्थित भएपछि पार्टीभित्र विभिन्न टिकाटिप्पणी र गुटगत राजनीतिको चर्चा चुलिएको छ।

यससँगै सर्लाही–४ बाट निर्वाचित डा. अमरेशकुमार सिंहसमेत कार्यक्रममा सहभागी नभएपछि पार्टीभित्र आन्तरिक विभाजनको आशंका गरिएको छ। काठमाडौँस्थित एक होटलमा आयोजित उक्त कार्यक्रममा दुवै दिन उनीहरूको अनुपस्थितिले थप जिज्ञासा उत्पन्न गरेको हो।

पार्टी सभापति रवि लामिछानेले बुधबार आयोजित समापन समारोहमा गुटबन्दीको चर्चा हुनु अनौठो भएको टिप्पणी गर्दै सांसदहरूलाई अनावश्यक समूहबन्दी नगर्न निर्देशन दिएका थिए। उनले निर्वाचनमा ठूलो जनसमर्थन प्राप्त गरेको रास्वपाका लागि एकता आवश्यक रहेको उल्लेख गरे।

उक्त कार्यक्रममा प्रत्यक्ष र समानुपातिकतर्फका १८२ जना सांसदहरूको सहभागिता रहेको थियो, जहाँ परिचयात्मक र सामूहिक अभ्याससम्बन्धी कार्यक्रम सम्पन्न भएको थियो।

पार्टी उपसभापति डोलप्रसाद अर्यालले पहिलो दिन बालेन साह अस्वस्थ र व्यस्त रहेकाले उपस्थित हुन नसकेको जानकारी दिएका थिए। दोस्रो दिन सहभागी गराउने प्रयास हुने बताए पनि अन्ततः साह कार्यक्रममा सहभागी भएनन्।

पार्टी प्रवक्ता मनिष झाले भने साह आगामी सरकार गठनसम्बन्धी तयारीमा व्यस्त रहेकाले अभिमुखीकरणमा सहभागी हुन नसकेको बताएका छन्। यद्यपि, दुवै नेताको भनाइबीच अन्तर देखिएपछि कार्यक्रममा सहभागी सांसदहरूले यसलाई रहस्यमय रूपमा लिएका छन्।

साह नगरकोटमा बसेर आफ्ना सहयोगीसहित सरकार गठनसम्बन्धी रणनीति बनाइरहेको उनका निकटस्थ स्रोतको दाबी छ। तर उनको स्वास्थ्य अवस्थाबारे आधिकारिक जानकारी सार्वजनिक भएको छैन।

यसअघि काठमाडौँ महानगरपालिकाका मेयर रहँदा पनि सीमित भेटघाट र कार्यशैलीका कारण साहमाथि स्वेच्छाचारी शैली अपनाएको आरोप लाग्ने गरेको थियो। अहिले पनि उनी सार्वजनिक रूपमा कम देखिनु पार्टीभित्रै चासोको विषय बनेको छ।

गत पुस १३ गते सात बुँदे सहमतिमार्फत् रास्वपामा प्रवेश गरेका साहले वरिष्ठ नेताको जिम्मेवारी पाए पनि हालसम्म पार्टी सदस्यको औपचारिक सपथ लिएका छैनन्।

यता पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपाप्रति आशा, ईर्ष्या र सतर्कताको दृष्टिले हेरिनु स्वाभाविक भएको बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले रास्वपाले हालैको निर्वाचनमा प्राप्त गरेको जनमतले नेपाली राजनीतिको पुनर्संरचना र पुस्तान्तरणको सन्देश दिएको उल्लेख गरेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस