रास्वपालाई जम्बो मन्त्रिमण्डल घटाउन सकस, मन्त्री बन्न नेताहरूको दौडधुप

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ फागुन ३०, आईतबार (१ घण्टा अघि)
  • ८३ पटक पढिएको
रास्वपालाई जम्बो मन्त्रिमण्डल घटाउन सकस, मन्त्री बन्न नेताहरूको दौडधुप

काठमाडौं, ०१ चैत। राष्टिय स्वतन्त्र पार्टी(रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचन अघि जम्बो मन्त्रिमण्डलको संख्या घटाउने भन्दै बाचा गरे अनुसार चार वटा मन्त्रालय कटौती गर्न सकस भएको छ ।

मन्त्रालय घटाउने र मन्त्री कसलाई बनाउने भन्ने विषयमा दुई शीर्षनेताबीच भइरहेको छलफलको क्रममा नवनिर्वाचित सांसदहरु मन्त्री बन्नकै लागि तीव्ररुपमा दौडधुप बढाएको छ । निर्वाचन सम्पन्न भएसंगै नयाँ सरकार गठनको गृहकार्यमा जुटेको रास्वपासहितका राजनीतिक दलहरूलाई समानुपातिक प्रणाली अन्तर्गत निर्वाचित उम्मेदवारको सूची बुझाउन भनेको छ ।

अर्कोतर्फ निर्वाचनमा दुईतिहाइ नजिकको बहुमत पाएका रास्वपाले यसअघिको सहमति अनुसार वरिष्ठ नेता बालेन्द्र साह (बालेन) लाई संसदीय दलको नेता बनाउन संसदीय दलको नेता चयनसम्बन्धी विद्यमान व्यवस्था संशोधन गर्ने तयारी पनि थालेको छ । सोही अनुसार अब बन्ने संघीय सरकारमा को कुन मन्त्री बन्लान् भन्ने चासो र चर्चा समेत शुरु भएको छ ।

कुन आकारको मन्त्रिपरिषद् बनाउने, कतिवटा मन्त्रालय राख्ने र कस्ता व्यक्तिलाई मन्त्री बनाउने भन्ने विकल्पबारे पार्टीदेखि स्थानीय बजारसम्म चर्चा चुलिएको छ । अहिले आन्तरिक रूपमा मन्त्रालय सञ्चालन गर्नसक्ने सम्भावित सांसदको सर्ट लिस्टिङ गर्ने काम भइरहेको भन्दै प्रधानमन्त्री नियुक्तिकै समयमा सबैजसो मन्त्रालयलाई समेत पूर्णता दिनेगरी छलफल अघि बढिरहेको रास्वपाका एक नेताले जानकारी दिए ।

बालेन नेतृत्वको सरकार गठनको गृहकार्य भइरहँदा नयाँ सरकारले कतिवटा मन्त्रालय कायम गर्लान् भन्ने समेत चासोको विषय बनेको छ । संविधानले बढीमा २५ सदस्यीय मन्त्रिमण्डल बनाउन नपाउने बाध्यकारी व्यवस्था गरेको छ । अहिले २२ वटा मन्त्रालय कायम रहेको छ । अघिल्लो सरकार हुँदा बाँकी ३ जना राज्यमन्त्री नियुक्ति गर्ने अभ्यास थियो ।

अन्तरिम सरकारले भने दुई वा बढी मन्त्रालयलको जिम्मा समेत एउटै मन्त्रीलाई दिएर मन्त्रिमण्डलको संख्या १५ भन्दा बढ्न दिएको थिएन । तर यसपटक रास्वपाले १८ वटाभन्दा धेरै मन्त्रालय नराख्नेगरी आफ्नो बाचापत्रमा एजेण्डा बनाएको छ । यस व्यवस्थालाई कार्यान्वयन गर्ने हो भने अब बन्ने सरकारले अहिले रहेको २२ वटा मन्त्रालयमा ४ वटा मन्त्रालयको कार्यक्षेत्र अन्य मन्त्रालयमा गाभ्नु पर्ने देखिन्छ ।

तर अहिलेसम्म रास्वपाभित्र कुन मन्त्रालय कहाँ गाभ्ने र कसरी व्यवस्थापन गर्ने भन्ने सम्बन्धमा भने कुनै पनि औपचारिक छलफल हुन नसकेको ती नेताले दाबी गरे । बाचापत्र (घोषणापत्र) लेखन गर्दा समितिले विभिन्न विकल्पबारे छलफल भएको हुनसक्ने भए पनि अहिलेसम्म पार्टीमा औपचारिक रुपमा यसबारे छलफल नभएको रास्वपाका नेता गणेश पराजुली बताए ।

बालेन सचिवालयका एक सदस्य भने १८ वटा मन्त्रालय तत्काल कार्यान्वयन गर्न सहज नभएको उनले बताए । अहिलेसम्म २२ वटा मन्त्रालय संख्याको हिसाबले धेरै देखिए पनि कार्यक्षेत्रका आधारमा भने अहिले नै भारी जस्तो देखिन थालिएको छ । कति मन्त्रालय राख्ने विषयभन्दा पनि रास्वपाका सभापति रवि लामिछाने र भावी प्रधानमन्त्रीसमेत रहेका पार्टीका वरिष्ठ नेता बालेनबीचमा कसलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्दै गोप्यरुपमा भलाकुसार ीसमेत भएको जनाइएको छ ।

यसले गर्दा मन्त्रालयको संख्याभन्दा पनि पार्टी भित्र बाट मन्त्री बन्नका लागि आउन थालेको दबाब थेग्न पनि शीर्षनेताहरुलाई हम्मेहम्मे परेको एक नेताले दाबी गरे । प्रष्ट कार्यक्षेत्र भएका प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलगायत अन्य मन्त्रालयका कार्यक्षेत्र आफैँमा पनि अन्योलता देखिएको छ ।

केही मन्त्रालयबीच कार्यक्षेत्रको दोहोरोपनको समस्या छ भने केहीका अत्यन्तै भेग प्रकृतिको कार्यक्षेत्र रहेको उनीहरुबीच भएको छलफलको निचोड रहेको उनको भनाइ छ । पार्टी सभापति लामिछाने र वरिष्ठ नेता साहसहितको टीम मन्त्री बनाउने र मन्त्रालय थपघटको विषयमा केन्द्रित भइरहँदा बाहिर भने निर्वाचित सांसदहरु मन्त्री बन्नका लागि सामाजिक सञ्जालदेखि आन्तरिक पहुँच अनुसारसम्म लविंग थालेका छन् ।

पार्टी प्रवक्तासमेत रहेका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य मनिष झा पनि मन्त्री बन्ने लाइनमा छन् । तर उनी भने व्यक्तिगत रुपमा गुपचुप रहे पनि उनका कार्यकर्ता तथा समर्थकहरु भने सामाजिक सञ्जाल अन्तर्गतको फेसबुकमा सक्रियताका साथ सञ्चार मन्त्रालय वा शिक्षा मन्त्रालयमा दाबी गर्न थालेका छन् ।

केही दिन अघि पार्टी प्रवक्ता झाले आफू मन्त्री बन्ने लाइनमा नलाग्ने तर अवसर दिएमा आफू जुनसुकै मन्त्रालयको जिम्मेवारी सम्हाल्न सक्षम रहेको बताएका थिए । तर निर्वाचन हुनु अघि झाले आफूलाई सञ्चार तथा प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्न तयार रहनका लागि पार्टीभित्रैबाट निर्देशन आएको सार्वजनिक रुपमै अभिव्यक्ति नै दिएका थिए ।

यता रास्वपा सचिवालयको बैठक आइतबार बस्ने भएको छ । शनिबार बस्ने भनिएको बैठक आइतबारका लागि तय भएको जनाइएको छ । बैठक आइतबार बिहान १० बजे पार्टी कार्यालय वनस्थलीमा बस्ने रास्वपा निकट स्रोतले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक उम्मेदवार सिफारिस लगायत विषयलाई बैठकको कार्यसूचीमा राखिएको छ ।

यसका साथै वरिष्ठ नेता साहलाई संसदीय दलको नेता बनाउन आवश्यक कदमबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस