रौतहटमा पुराना नेता बाहिर, चारवटै क्षेत्रबाट नयाँ अनुहार विजयी

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ फागुन २३, आईतबार (२ दिन अघि)
  • १४० पटक पढिएको
रौतहटमा पुराना नेता बाहिर, चारवटै क्षेत्रबाट नयाँ अनुहार विजयी

रौतहट, २४ फाल्गुन । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा रौतहटमा रहेको चारै निर्वाचन क्षेत्रबाट पहिलोपटक नयाँ अनुहार विजयी भएको छ ।

जिल्लाका विभिन्न क्षेत्रमा रहेको पुरानो गढलाई तोड्दै नयाँ उम्मेदवारहरू विजयी भएका हुन् । क्षेत्र नम्बर १ बाट पटक-पटक जितेका नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपाललाई पहिलोपटक पराजय भोग्नु परेको छ ।

यो क्षेत्र नेपालको गढ मानिए पनि यसपालि राष्ट्रिय स्वतन्त्र पार्टीका राजेश कुमार चौधरीले २८ हजार नौ सय ४६ मत प्राप्त गर्दै पहिलोपटक विजयी हुनु भएको छ । नेपालले भने कुल सात हजार छ सय ६९ मत प्राप्त गर्नुभएकाे छ । क्षेत्र नम्बर २ मा एक मात्र नेपाली कांग्रेस पार्टीका डा. फिरदोश आलम विजयी हुनु भएको छ ।

कांग्रेसका गढ र पुरानो नेता आफताब आलमको क्षेत्र भएको यहाँ पछिलो २०७९ को निर्वाचनमा स्वतन्त्र उमेदवार किरण साह विजयी हुनुभएकाे थियाे । पछिल्लो निर्वाचन हार बेहोरेका आलम यसपालि २९ हजार पाँच सय अठ्ठाइस मत प्राप्त गरी निर्वाचित हुनुभएकाे हाे भने उहाँका निकटम प्रतिद्वन्दी नेकपाका किरण साहले १८ हजार चार सय व्यालिस् मत पाउनुभएकाे थियाे ।

क्षेत्र नम्बर ३ मा पटक-पटक सांसद हुँदै मन्त्री समेत बन्नुभएका आम जनता पार्टीका अध्यक्ष प्रभु साह लाई हार ब्यहोर्नु परेको छ । प्रभु साहको पकेट क्षेत्र मानिएका यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका रवीन्द्र पटेल विजयी हुनुभयाे । २०७९ को निर्वाचनमा यसै क्षेत्रबाट माओवादी पार्टीबाट उम्मेदवार बन्नुभएका पटेलले हार ब्यहोर्नुभएकाे थियाे । तर, पहिलो पटक साहको गढ तोड्दै पटेल २७ हजार तीन सय अठारह मत प्राप्त गरी विजयी हुनुभएकाे छ भने उहाँका निकटम प्रतिद्वन्दी जासपाका गोविन्द चौधरी भने ११ हजार नौ सय चौवन मत प्राप्त गर्नुभएकाे छ ।

प्रभु साह भने यसपटक तेश्रो स्थानमा रहनुभएकाे छ । उहाँ नौ हजार आठ सय नब्बे मत प्राप्त गर्न सक्नुभयाे । त्यस्तै क्षेत्र नम्बर ४ मा रास्वपाका गणेश पौडेल निर्वाचित हुनु भएको छ । लगातार दुईपटक निर्वाचित हुनुभएका नेपाली कांग्रेसका देवप्रसाद तिमिल्सेनालाई ह्याट्रिक जित निकाल्नबाट पौडेलले रोक्नुभएकाे छ ।

पौडेल ३६ हजार आठ सय ७६ मत प्राप्त गर्नुभएकाे छ भने उहाँका निकटम प्रतिद्वन्दी कांग्रेसका तिमल्सेना १५ हजार आठ सय ६५ मत प्राप्त गर्नुभएकाे थियाे । शैक्षिक र सामजिक पेसाबाट उदाएका पौडेल पहिलो पटकको उम्मेदवारी मै जित निकाल्न सफल हुनु भएको छ ।

चार निर्वाचन क्षेत्र रहेको यस जिल्लामा कुल ४ लाख ३६ हजार छ सय एघार मतदाता रहेका छन् । जिल्लामा यसपटक दुई लाख ९३ हजार एक सय ३८ मत खसेको थियो जुन कुल मतको ६७.१४ प्रतिशत रहेको छ । चारवटा निर्वाचन क्षेत्रमा १३ महिला सहित एक सय ४२ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस