सर्लाही–रौतहट जोड्ने बागमती पुल निर्माण अधुरै

सर्लाही–रौतहट जोड्ने बागमती पुल निर्माण अधुरै

रौतहट, ०१ चैत। सर्लाही र रौतहट जोड्ने गङ्गा–पिपरा बागमती नदी पुल निर्माण कार्य लामो समयदेखि अलपत्र पर्दा स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । चुनावका बेला प्रमुख एजेन्डा बनाइने यो पुल निर्माण कार्य चुनाव सकिएपछि भने सुस्ताउँदै गएको स्थानीयको गुनासो छ ।

सर्लाही क्षेत्र नम्बर–४ र रौतहट क्षेत्र नम्बर–१ का उम्मेदवारहरूले प्रतिनिधिसभा निर्वाचनका बेला गङ्गा–पिपरा पुल निर्माणलाई साझा चुनावी एजेन्डा बनाएका थिए । चुनावी प्रचारका क्रममा पुल निर्माण छिटो सम्पन्न गराउने प्रतिबद्धता जनाइए पनि चुनावपछि कामले गति लिन नसकेको स्थानीयवासी बताउँछन् ।

रामनगर गाउँपालिका–२ का स्थानीय जितेश यादवका अनुसार सर्लाही–४ बाट निर्वाचित सांसद अमरेश कुमार सिंहले चुनाव प्रचारका क्रममा पुल निर्माण तीव्र गतिमा अगाडि बढाउने आश्वासन दिएका थिए ।

यसैगरी नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पनि चुनाव जिते वा हारे पनि पुल निर्माणका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । रौतहट क्षेत्र नम्बर–१ का उम्मेदवारहरूले पनि पुल निर्माणलाई प्राथमिकतामा राखेका थिए ।

गङ्गा–पिपरा बागमती नदी पुल निर्माणका लागि २०७३ असार २८ गते करिब ८६ करोड ३७ लाख ९ हजार रुपैयाँमा टुण्डी–रसुवा–पप्पु जेभी कम्पनीसँग ठेक्का सम्झौता गरिएको थियो। निर्धारित समयमा काम सम्पन्न हुन नसक्दा पटक–पटक म्याद थप गरिएको छ । पछिल्लो पटक तोकिएको म्याद अनुसार २०८३ कात्तिक १३ गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताइएको छ ।

निर्माणाधीन पुलमा प्रयोग भएको सामग्रीको गुणस्तरमा प्रश्न उठ्दै आएको छ । २०८१ असोजमा आएको बाढीका कारण पुलको एक स्पान र एक फाउन्डेसनमा क्षति पुगेपछि माटो परीक्षण र डिजाइन पुनरावलोकनको कारण देखाउँदै निर्माण कार्य सुस्त भएको स्थानीयको आरोप छ ।

करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको बताइए पनि पुल अलपत्र रहँदा दैनिक एक हजारभन्दा बढी नागरिकलाई जोखिमपूर्ण रूपमा नदी पार गर्नुपरेको छ । बाढीपछि क्षति भएको पुल मर्मत तथा निर्माणलाई तीव्रता दिन राज्य पक्षबाट अपेक्षित पहल हुन नसकेको स्थानीयको भनाइ छ ।

उक्त पुल निर्माण सम्पन्न भए सर्लाही र रौतहटसँगै पर्सा, बारा लगायत मधेसका जिल्लालाई प्रदेश राजधानीसँग सिधा सडक सम्पर्क जोडिने भएकाले यसको महत्व अत्यन्त ठूलो रहेको स्थानीयवासीले बताएका छन् । पुल निर्माण छिटो सम्पन्न गर्न सम्बन्धित निकायको ध्यान जानुपर्ने उनीहरूको माग छ ।

ताजा अपडेट

खोजी गर्नुहोस