सवारी दुर्घटनापछि भारतीय नम्बर प्लेटको कारमा आगो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र ९, सोमबार (१ दिन अघि)
  • ८८ पटक पढिएको
सवारी दुर्घटनापछि भारतीय नम्बर प्लेटको कारमा आगो

सर्लाही, ०९ चैत। पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–६ स्थित कालिन्जोर पुलमा आइतबार राति दुई वटा गाडीसँग ठोक्किँदा भारतीय नम्बर प्लेटको कारमा आगलागी भएको छ ।

राति करिब पौने ९ बजे बीआर ०१ पीएम ८८३३ नम्बरको कारमा आगलागी भएको हो । पूर्वबाट आउँदै गरेको उक्त कार मधेश प्रदेश ०४–००१ ख ०१५६ नम्बरको बसलाई पछाडिबाट ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

ठक्करपछि कार चालकले सवारी ब्याक गरेर भाग्ने प्रयास गर्दा सोही दिशाबाट आइरहेको प्रदेश २–०२–००१ च ०११७ नम्बरको जिपमा ठोक्किँदा दुर्घटना थप जटिल बनेको थियो ।

दुर्घटनापछि कारमा आगलागी भई अघिल्लो भागमा क्षति पुगेको प्रहरीले जनाएको छ । कार घटनास्थलमै रहेको र नियन्त्रणमा लिएर कार्यालय ल्याउने तयारी भइरहेको छ ।

कार चालक भारत, बिहार राज्यका ५० वर्षीय शरद प्रकाश चौधरी, बस चालक महोत्तरीको बर्दिवास नगरपालिका–७ का ३१ वर्षीय किरण राई र पिकअप चालक सर्लाही हरिवन नगरपालिका–६ का करिब ३५ वर्षीय अजयकुमार महत्तोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनामा मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी सरोज राईले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस