सुदूरपश्चिममा क्षयरोगको समस्या बढ्दै, ६५ जनाको मृत्यु

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र ११, बुधबार (२ घण्टा अघि)
  • ७६ पटक पढिएको
सुदूरपश्चिममा क्षयरोगको समस्या बढ्दै, ६५ जनाको मृत्यु

सुदूरपश्चिम, ११ चैत। जनस्वास्थ्यको मुख्य समस्याका रुपमा रहेको क्षयरोगको समस्या सुदूरपश्चिम प्रदेशमा बढ्न थालेको छ ।

क्षयरोगको उपचारका लागि ‘डट्स’ कार्यक्रम (चिकित्सकको निगरानीमा औषधि खुवाउने विधि) प्रभावकारी देखिए पनि समुदायमा अपेक्षित रूपमा रोगी पत्ता नलाग्दा यो रोगको समस्या बढेको स्वास्थ्यकर्मीले बताएका छन् । स्वास्थ्य निर्देशनालय दिपायलका क्षय–कुष्ठ निरीक्षक मनोज ओझाले लक्ष्यअनुसार रोगी पत्ता नलाग्दा यो रोगको समस्या बढेको देखिएको बताए ।

‘हाम्रो देशमा उपचार पद्धति राम्रो भयो, तर उपचारको दायरामा नआउनेको रोगकै कारण मृत्यु हुने गरेको अनुमान छ,’ उनले भने, ‘प्रदेशभरि ४० प्रतिशत बिरामी अझै पनि उपचारमा आउन नसकेको अनुमान छ ।’

लक्षण देखिने बिरामी स्वास्थ्य संस्थामा समयमै नआउने, सबै ठाउँमा पिसिआर(रोग पत्ता लगाउने जाँचको विधि)को पहुँच बढ्न नसक्नु, जाँच गर्नुपर्ने काममा फिल्ड तहमा कमी भइरहेको र लक्षण देखिएको बिरामी पनि उपचारमा ढिलो गरी आउनेजस्ता कारणले रोगीको सङ्ख्या बढेको देखिएको ओझाले बताए ।

जनसंख्याको चाप, बसाइँसराइ, भारतसँगको खुल्ला सिमाना, गरिबी, जनचेतनाको अभाव आदिका कारण क्षयरोग नियन्त्रणमा चुनौती रहेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

प्रदेशमा दर्ता भएकामध्ये ६५ वर्ष उमेरमाथिका मात्रै २६ प्रतिशत यो रोगका बिरामी छन् । सबैभन्दा बढी बिरामी कैलाली जिल्लामा छन्, । प्रतिलाख जनसङ्ख्याको हिसाबले यो रोगका बढी बिरामी कञ्चनपुरमा छन् ।

प्रदेशमा बर्सेनि क्षयरोगीको दर बढ्दै गएको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष ०७७/७८ मा दुई हजार ८२६ जना, आव ०७८/७९ मा तीन हजार ४२४ जना, आव ०७९/८० मा तीन हजार २१४ जना, आर्थिक वर्ष ०८०/८१ मा तीन हजार ६१८ जना रहेकोमा आव ०८१/८२ मा तीन हजार ६४८ जना बिरामी पुगेको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।

चालु आवको माघ मसान्तसम्म प्रदेशमा एक हजार ८४० क्षयरोगीका बिरामी पुगेका छन् । यीमध्ये कैलालीमा ८१२ र कञ्चनपुरमा ५०४ बिरामी छन् । आव ०८१/८२ को माघ मसान्तसम्ममा डोटीमा ७८, अछाममा ८३, बैतडीमा ८३, बझाङमा ५८, बाजुरामा ८१, डडेल्धुरामा ७२ र दार्चुलामा ६९ जना क्षयरोगका बिरामी पुगेका छन् ।

चालु आवमा प्रदेशका कूल बिरामीमध्ये ६५ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ । नेपालमा हुने क्षयरोगीमध्ये ७५ प्रतिशतभन्दा बढी फोक्सोको क्षयरोगले पीडित हुने गरेको अनुमान छ । ग्रन्थी, पाठेघर, पेट, कलेजो, मिर्गौला, मष्तिष्कमा पनि क्षयरोगको सङ्क्रमण हुने गर्छ ।

सरकारले क्षयरोगको उपचार व्यवस्था नि:शुल्क गरेको छ । सन् २०३५ सम्म क्षयरोग निर्मूल पारी क्षयरोगले हुने मृत्युमा ९५ प्रतिशतले कमी ल्याउने योजना सरकारको छ ।

लामो समयदेखि खोकी लागेमा, खकारमा रगत देखिएमा, श्वास फेर्न गाह्रो या छाती भारी भइरहेमा, अकस्मात् धेरै तौल घटेमा, पसिना आउने धेरै भएर थकानको महसुस बढी भएमा नजिकैको स्वास्थचौकी गएर स्वास्थ्य परीक्षण गर्नुपर्ने सल्लाह स्वास्थ्यकर्मीको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस