सुन जस्तो देखिने धातु सहित रौतहटमा चार जना पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र ११, बुधबार (४ घण्टा अघि)
  • ९० पटक पढिएको
सुन जस्तो देखिने धातु सहित रौतहटमा चार जना पक्राउ

रौतहट, ११ चैत। रौतहटको चन्द्रपुर नगरपालिका–५ स्थित एक होटलबाट नक्कली सुन जस्तो देखिने धातु सहित ४ जना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार हिजो साँझ करिब ४:४५ बजे चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलको कोठा नम्बर १०२ मा सुनचाँदीको अवैध कारोबार भइरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी नायव उपरीक्षक रुपा लाबुङको कमाण्डमा खटिएको टोलीले छापा मारेको थियो।

प्रहरीले कोठामा रहेका चार जनालाई नियन्त्रणमा लिएर शरीर तथा कोठाको खानतलासी गर्दा नक्कली सुन जस्तो देखिने विभिन्न धातु फेला पारेको जनाएको छ। पक्राउ परेका अरबिन्द चौधरीले लगाएको हाफ पाइन्टको खल्तीमा रहेको पर्सभित्र निलो प्लास्टिकका तीन वटा प्याकमा सिलबन्दी अवस्थामा १० ग्राम लेखिएको पहेँलो धातु थान–४, पोलिस गरिएको कालो धातु थान–१ र काटेर टुक्रा पारिएको कालो धातु थान–२ गरी जम्मा ७ थान बरामद गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै, घटनास्थलबाट ६ थान मोबाइल फोन र दूरबिन जस्तो देखिने एक थान उपकरण समेत बरामद गरिएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले उक्त नक्कली सुन जस्तो धातु प्रयोग गरी सर्वसाधारणलाई ठगी गर्ने उद्देश्य राखेको खुलेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा नुवाकोट तारकेश्वर गाउँपालिका–३ घर भई हाल भारत पश्चिम बंगाल दार्जिलिङ बस्ने ३७ वर्षीय अशोक तामाङ, रौतहट चन्द्रपुर नगरपालिका–१० का ३० वर्षीय अरबिन्द चौधरी, बौधीमाई नगरपालिका–६ का ३८ वर्षीय रुपकेश राय यादव र भारत पश्चिम बंगाल सिलीगुडी जयगाउँ बस्ने ३० वर्षीय संजोक बस्नेत रहेका छन्।

उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी विष्णु प्रदीप बस्यालले जानकारी दिएका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस