हलेसी नगरपालिकाको सहयोग : ८३ प्रभावित परिवारलाई जस्तापाता

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र २२, आईतबार (६ घण्टा अघि)
  • ७७ पटक पढिएको
हलेसी नगरपालिकाको सहयोग : ८३ प्रभावित परिवारलाई जस्तापाता

खोटाङ, २२ चैत्र । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले हावाहुरीबाट प्रभावित भएका ८३ घरपरिवारलाई जस्ता पाता प्रदान गरेको छ ।

नगरपालिकाले गत चैत २ गते साँझ आएको हावाहुरीका कारण घरको छानामा पूर्णरुपमा क्षति पुगेका प्रभावितलाई चैत २१ गते जस्ता पाता प्रदान गरेको हो ।

हावाहुरीले छाना उडाइदिएपछि छानाविहीन घरमा बस्न बाध्य नागरिकलाई घरको ‘साइज’ अनुसार आवश्यक जस्ता प्रदान गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले बताइन् ।

छाना हाल्नका लागि हलेसी तुवाचुङ नगरपालिका-१ बाहुनीडाँडाका ११, हलेसी तुवाचुङ नगरपालिका-२ डिकुवाका १०, हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मिटारका ३२, हलेसी तुवाचुङ नगरपालिका-४ बडहरेका ४, हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिमका २, हलेसी तुवाचुङ नगरपालिका-६ मंगलटारका ३, हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानका १, हलेसी तुवाचुङ नगरपालिका-८ धितुङका १० र हलेसी तुवाचुङ नगरपालिका-११ राजापानीका १० परिवारलाई जस्ता वितरण गरिएको छ ।

यस्तै, एकल महिला तथा जंगलछेउमा बसोबास गरिरहेका र डढेलोको जोखिममा परेका ७ परिवारलाई पनि जस्ता प्रदान गरेको नगरपालिकाले जनाएको छ ।

हावाहुरीले छाना उडाइदिएपछि खुला आकाशमुनि बस्न बाध्य पीडितलाई तत्काल त्रिपाल बाँडेको नगरपालिकाले केही समयपछि जस्ता प्रदान गरेको हो । चैत ९ गतेको हिउँदेसभामार्फत बजेट संशोधन गर्दै विपद व्यवस्थापन कोषमार्फत जस्ता खरिद गरेर वितरण गरिएको मेयर राईले बताइन् ।

सात विद्यालयलाई पनि जस्ता बाँड्ने

नगरपालिकाले हावाहुरीबाट क्षति पुगेका सात विद्यालयलाई पनि जस्ता बाँड्ने तयारी गरेको छ । विद्यालयलाई भने सम्झौता गरेर जस्ता प्रदान गर्ने नगरपालिकाले जनाएको छ ।

हावाहुरीले बाहुनीडाँडास्थित मालिकादेबी मावि कदुवा, पञ्चावतीदेवी आवि बेता र बेलडाँडा आवि ढोडेनीको छाना उडाइदिएको छ । यस्तै, च्यास्मीटारस्थित नमुना आधारभूत विद्यालय र देउराली आधारभूत विद्यालयको छाना उडाइदिएको छ । राजापानीस्थित जलन्धारा आवि र सरस्वती आविको पनि छाना छरपष्ट बनेको छ ।

बाहुनीडाँडाको बरडाँडा सामुदायिक खोपकेन्द्रमा समेत क्षति पुगेको वडाध्यक्ष रुद्र राईले बताए । हावाहुरीले सामुदायिक संस्था तथा मण्डलीहरुमा पनि क्षति पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस