Wartman Kal DainikOnline News Portal

१५ वर्षपछि कमला पुलबाट गुड्नेछन् सवारीसाधन, पुस पहिलो सातादेखि सञ्चालनको तयारी

November 29, 2026 · Wartman Kal Dainik

सिरहा ,१३ मंसिर। सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीमाथिको निर्माणाधीन पुल १५ वर्षपछि सञ्चालनमा आउने भएको छ । लामो समयदेखि अलपत्र रहेको पुल आगामी पुस पहिलो सातादेखि हलुका सवारीसाधन, मोटरसाइकल र पैदलयात्रीका लागि खुला गर्ने तयारी गरिएको हो ।

हुलाकी सडक निर्देशनालय जनकपुरधामका प्रमुख इन्जिनियर कृष्णकुमार महतोका अनुसार पुल सञ्चालनका लागि आवश्यक निर्माण तथा मर्मतसम्बन्धी काम अन्तिम चरणमा पुगेको छ ।

यसअघि मंसिर पहिलो साताभित्रै पुल सञ्चालनमा ल्याउने लक्ष्य राखिएको थियो । तर, एप्रोच सडक निर्माण, पुलमाथि वियरिङ कोर्स बिछ्याउने, रेलिङ जडान र रङरोगनलगायतका काम बाँकी रहेपछि सञ्चालनको समय पुस पहिलो साताका लागि सारिएको हो ।

कमला पुल निर्माणको ठेक्का २०६८ सालमा पप्पु–लुम्बिनी जेभीले पाएको थियो । २०७८ असारमा पुल उद्घाटन गर्ने तयारी भइरहेका बेला बाढीका कारण पुलका पिलरमा क्षति पुगेपछि निर्माण कार्य प्रभावित भएको थियो । त्यसपछि सोही निर्माण कम्पनीमार्फत पुलको पुनर्निर्माण भइरहेको छ ।

पुल निर्माणमा भएको लामो ढिलाइका कारण सिरहा र धनुषाका स्थानीयवासीले वर्षौंदेखि कमला नदी वारपार गर्न डुङ्गाको सहारा लिनुपरेको छ । वर्षायाममा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता झेल्दै आएका स्थानीयका लागि पुल सञ्चालनमा आउनु ठूलो राहत हुने स्थानीय देवकुमार यादव बताउँछन् ।

यस क्षेत्रका जनताको चाहना धेरै वर्षपछि पूरा हुन लागेकाे यादवले बताए। हाल पुलको पूर्व र पश्चिम दुवैतर्फ सडक जोड्न माटो पुर्ने काम भइरहेको छ । बाँकी निर्माण कार्य निर्धारित समयमै सम्पन्न भए पुस पहिलो सातादेखि पुलमा यातायात सञ्चालन हुने जनाइएको छ ।

पुल सञ्चालनमा आएपछि सिरहा र धनुषाबीचको आवागमन सहज हुनुका साथै स्थानीय व्यापार, व्यवसाय र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने स्थानीयको अपेक्षा छ ।