वर्तमानकाल सम्वाददाता
बैशाख २१ गते ।
सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणलाई चुस्त र प्रभावकारी बनाउने भएको छ । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठले हालको लाइसेन्स वितरण कार्यलाई थप प्रभावकारी बनाउन लागिएको बताए । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बिहीबारको बैठकमा उनले लाइसेन्स वितरणलाई प्रभावकारी बनाउन दैनिक पाँच हजारसम्म लाइसेन्स छपाइ भइरहेका जानकारी दिए ।
“अहिले सबैभन्दा ठुलो समस्या लाइसेन्सको छ । विभिन्न कारणले लाइसेन्स छपाइ बन्द थियो । करिब एक महिनादेखि भने दैनिक पाँच हजारसम्म लाइसेन्स छपाइ भइरहेका छन्, यसलाई अझ प्रभावकारी बनाउन निर्देशन दिइएको छ”,उपप्रधानमन्त्री महासेठले भने । लाइसेन्स वितरणलाई प्रभावकारी बनाउन ग्लोबल बोलपत्र आह्वान गरेर नयाँ प्रविधि थपेर छपाइ र वितरणलाई तीव्रता दिने बताउँदै महासेठले अहिलेकै गतिमा छपाइको काम भए एक वर्षभित्र कामले पूर्णता पाउने बताए ।
त्यसैगरी उनले राष्ट्रिय राजमार्गको मर्मत र स्तरोन्नतीको कामलाई परिणाममुखी बनाइने तथा राष्ट्रिय गौरवका आयोजनालाई थप गतिशील बनाउन योजनाबद्ध रूपमा काम अगाडि बढाइएको जानकारी दिए । उपप्रधानमन्त्री महासेठले निर्माण व्यवसायीको झण्डै रु ५० अर्ब भुक्तानी दायित्व बाँकी रहे पनि हाल आन्तरिक रूपमा केही व्यवस्थापन गरेर निर्माणका काम भइरहेका बताए ।
उनले आगामी आर्थिक वर्षको बजेटमा निर्वाचन क्षेत्र रणनीतिक सडकलाई विशेष प्राथमिकता दिने, कतिपय सडकलाई यस वर्ष सम्पन्न गर्ने र सम्भव नभए एक सय ६५ सडक अर्को वर्ष प्राथमिकता राखेर अगाडि बढाइन बताए ।