अहिले लगभग सबैतिर निषेधाज्ञा रहेको छ । निषेधाज्ञाको समयमा सर्वसाधारण वास्तवमा बाहिर निस्कनु नपर्ने हो तर अहिले बजार र चोक तथा मुख्य सडकको अवस्था हेर्दा निषेधाज्ञाजस्तो लाग्दैन । सडकलाई फुर्सद देखिँदैन । सडकलाई व्यवस्त बनाएका छन् मोटरसाइकल यात्रुले । दिनभर मानिसहरु यताबाट उता र उताबाट यता ओहोरदोहोर गरिरहेका छन् । सम्भवतः यसैले गर्दा होला अपेक्षा गरिएअनुसार कोरोनाको संक्रमण दर कम हुन सकेको छैन ।
अहिलेको अवस्था अत्यन्त जटिल छ । यस जटिल र भयावह अवस्थालाई विचार गर्ने हो भने मानिसले आफ्नो दौडधूपलाई कम गर्नुपर्ने हो तर मानिसहरुले आफ्नो आनीबानीमा खासै परिवर्तन गरेको पाइएको छैन । जेठको एक र दुई गते जसरी सडक शान्त र सुनसान देखिएको थियो, त्यसरी यदि एकदेखि डेढ हप्ता सडक शान्त रहिदिने हो भने कोरोना विस्तारको चेन टुट्थ्यो होला कि ?
अहिले छिमेकी भारतमा लगातार केही दिनदेखि कोरोना संक्रमितको संख्या कम भइरहेको छ । भारतका प्रमुख सहरहरुमा लकडाउन र पूर्ण लकडाउन रहेको भारतीय संचारमाध्यमहरुले बताइरहेका छन् । व्यापक मात्रामा प्रहरी परिचालन गरिएको भारतमा यसै गरी यदि एक डेढ हप्ता रहने हो भने निकै हदसम्म कोरोना नियन्त्रणतर्फ जाने देखिन्छ । हामीकहाँ पनि भारतमा जस्तो अलिक कडा निषेधाज्ञा हुनुपर्ने आवश्यकता रहेको बताइन थालिएको छ । निषेधाज्ञा उल्लंघन गरेर बहादुरी देखाएकाहरुलाई नियन्त्रण गर्ने सम्भवतः यही उपाय उपयुक्त होला ।