पवन प्रसाद साह पर्सा । असार २३ गते
थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले असार २३ गतेदेखि अत्याधुनिक सुविधा तथा प्रविधिसहित नेपालमै पहिलो जेनेटिक ल्याबसहितको आइभिएफ एण्ड फर्टिलिटि सेन्टर संचालनमा ल्याउने भएको छ ।
विभिन्न कारणले सन्तान नभएकाहरुका लागि आधुनिक प्रविधि, उपकरणले सुसज्जित नर्भिक आइभिएफ एण्ड फर्टिलिटी सेन्टर संचालन ल्याउन लागेको हो ।
चर्चित वरिष्ठ स्त्री रोग तथा टेस्टट्यूब बेबी विशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा। नूतन शर्मा नेतृत्वको टिमले नर्भिक आइभिएफ एण्ड फर्टिलिटी सेन्टरबाट सेवा प्रवाह गर्नेछ ।
डा। शर्माकाअनुसार नर्भिक अस्पतालको आइभिएफ एण्ड फर्टिलिटि सेन्टर नेपालका अस्पतालहरुमध्येकै अत्याधुनिक एवम् सुविधायुक्त रहेको छ । विश्वमा पछिल्लो समय अभ्यासमा आएका अत्याधुनिक उपकरण तथा प्रविधिहरुको प्रयोग गरी स्तरीय सेवा दिने तयारी पूरा भएको र भोलि सेन्टरको उद्घाटन हुने डा। शर्माले जानकारी दिइन् ।
यो सेन्टरमा वंशाणुगत रोगको पहिचान गर्ने प्रि–जेनेटिक डाइग्नोसिस सेवासहितको ल्याब समेत रहेको छ । नेपालमा हालसम्म कुनै पनि आइभिएफ सेन्टरमा प्रि–जेनेटिक डाइग्नोसिस सेवा उपलब्ध छैन ।
प्रि–जेनेटिक डाइग्नोसिसमार्फत स्वस्थ भू्रणको अवस्था पहिचान गरी गर्भाधारण गराउने गरिन्छ । जसका कारण भविष्यमा जन्मिने बच्चाहरुमा हुनसक्ने विभिन्न खाले बंशाणुगत रोगको जोखिम निराकरण गर्न सहयोग पुग्नेछ ।
डा। शर्माले विगत १५ वर्षदेखि काठमाण्डौंका विभिन्न अस्पतालसँग आवद्ध रहेर स्त्री रोग तथा बाँझोपनको समस्या रहेक सयौं बिरामीलाई सेवा दिइसकेकी छन् ।