वर्तमानकाल सम्वाददाता
माघ १ गते ।
आज माघे संक्रान्ति अर्थात मकर संक्रान्ति पर्व । प्रत्येक वर्ष सौरमासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे संक्रान्ति देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदैछ । आजका दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले आजको दिनलाई नेपालमा माघे सङ्क्रान्ति, तिलुवा सङ्क्रान्ति या मकर सङ्क्रान्ति या माघीका रूपमा आ–आफ्नै विशेषता र सांस्कृतिक महत्त्वका साथ मनाइने गरिन्छ । माघे १ देखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटो हुँदै जाने गर्दछ । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ ।
यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्दछ । तराईवासीले १ माघलाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् । वर्षभर ननुहाउने तराईवासीले आज भने अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । धर्मसिन्धुमा १ माघमा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांक निर्णायक समितिले जनाएको छ ।
नेवार समुदायमा ‘घ्यूचाकु सँल्हु’ नामले माघे सङ्क्रान्ति मनाइन्छ । त्यसैगरी माघे सङ्क्रान्तिलाई मगर समुदायमा आज तारो हान्ने खेल अत्यधिक प्रचलनमा छ । यस पर्वमा मगरहरूले धूमधामका साथ चेलीबेटी र पितृहरूको तीन दिनसम्म पूजा गर्दछन् । महाभारतमा भीष्म पितामहलाई इच्छा मृत्युको वरदान भएकाले रणभूमिमा अर्जुनका धनुष वाणहरूले शरीरमा सर्वत्र छेडेका भीष्म पितामहले आजकै दिन मृत्युको इच्छा जाहेर गरेर बिदा भएको कुरा महाभारतमा उल्लेख छ ।
उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ । आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जन विश्वास छ । माघे संक्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुंगो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो ।
यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ । आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ ।