रमेश कुमार यादब
पुस २९ , रौतहट
रौतहट जिल्लाको बृन्दावन नगरपालिका वडा नं. ७ स्थित मदरसा इस्लामिया फैजुल उलुम सखुआवा धमौरामा नयाँ भवन निर्माण हुने भएको छ । नगरपालिकाको नगरस्तरीय र वडास्तरीय बजेटबाट कुल ३० लाखको लागतमा मदरसाको भौतिक संरचना विस्तारको योजना अघि बढाइएको हो ।आईतबार एक विशेष कार्यक्रमका क्रममा नगर प्रमुख बिनोद प्रसाद कुर्मीले मदरसाको अनुगमन गर्नु भएको थियो । अनुगमनपछि उहाँले विद्यार्थीहरूको चाप र भवनको अभावलाई दृष्टिगत गर्दै नयाँ भवन निर्माण गर्ने निर्णय गर्नु भएको हो । नगरपालिकाका नगर प्रमुख कुर्मीले मदरसाको अनुगमनकै क्रममा २० लाखको लागतमा एकतले चार कोठे भवन निर्माण गर्ने घोषणा गरेका हुन् ।
उनले भवन अभावका कारण अध्ययनमा आइरहेको समस्या समाधान गर्न र विद्यार्थीहरूलाई उचित बसोबास र पठनपाठनको व्यवस्था मिलाउन यो कदम चालिएको बताए । नगर प्रमुख कुर्मीले कार्यक्रमको क्रममा हिन्दू–मुस्लिम सबै धर्म, जात र समुदायका व्यक्तिहरू समान अधिकारको हकदार भएको र सहअस्तित्वको भावना आवश्यक रहेको धारणा व्यक्त गरेका थिए । साथै नगर प्रमुख कुर्मीले कार्यक्रममा हिन्दु–मुस्लिम सबै समान रहेको र सबैलाई समान अवसर प्रदान गर्नुपर्ने धारणा राख्दै मदरसाको शैक्षिक विकासका लागि आफ्नो तर्फबाट सधै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
सोही कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष जगन्नाथ प्रसाद भेडिहरले मदरसाको पर्खाल (देवाल) र गेट निर्माणका लागि वडास्तरीय बजेटबाट १० लाखको रकम छुट्याइएको जानकारी गराए । वडाध्यक्षले मदरसाको संरचना सुदृढ बनाउन नगरस्तर र वडास्तरबाट पहल गरिरहेको बताए । त्यति मात्र नभएर उक्त बिधालयमा बोर्डस भई अध्यनअध्यापन गर्ने बिधार्थीको खानाको निम्ति र चिसो छल्ने गरि कपडाको ब्यवस्थापन गर्नको लागी नगर प्रमुख कुर्मिले १ लाख १ हजार रुपैंया प्रदान गर्ने बताउनु भयो ।
मदरसा इस्लामिया फैजुल उलुममा हाल करिब ४ सय विद्यार्थी अध्ययनरत रहेका छन् । त्यसमध्ये ६० विद्यार्थी बोर्डसमा बसेर अध्ययन गरिरहेका छन् । मदरसामा आधारभूतदेखि उच्च तहसम्मको शिक्षा प्रदान गरिंदै आएको छ । स्थानीय ओजिर मंसुरका अनुसार मदरसाको विद्यार्थी संख्या बढ्दो क्रममा छ, जसले गर्दा भौतिक संरचना थप्न आवश्यक रहेको महसुस भइरहेको थियो । मदरसाको संरचना निर्माणपछि यहाँको शिक्षाको स्तर थप उन्नत हुने अपेक्षा गरिएको छ ।
स्थानीय समुदायले नगरपालिकाको यो कदमको स्वागत गर्दै आगामी दिनमा यस्ता विकास निर्माणका कार्यलाई निरन्तरता दिनुपर्ने माग गरेका छन् । यस परियोजनाको सफलताले मुस्लिम समुदायको शिक्षामा थप सुधार आउने र धार्मिक सहअस्तित्वको सन्देश प्रवाह गर्न मद्दत पुग्ने विश्वास स्थानीयबासीले व्यक्त गरेका छन् ।